काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गाैतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको केन्द्रीय सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने र वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले पार्टीमा तीन अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत गरेकाे छ।
ओली र दाहालले गरे आत्मालोचना
बैठकमा विवादास्पद अध्यादेश ल्याएर पार्टी र सरकारलाई बदनाम गराएको तथा सरकार सञ्चालन गर्दा पार्टीसँग समन्वय नगरी अघि बढेको विषयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेका थिए। साथै पार्टीमा गुटउपगुट बनाएर विभिन्न छलफलमा सक्रिय अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आत्मालोचना गरेका थिए।
प्रवक्ता श्रेष्ठले भने, 'पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्। ती कमजोरीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ।' उनका अनुसार आफ्नो हकका जिम्मेवारीका निम्ति अध्यक्ष दाहाल र अरु नेताहरुले पनि आत्मालोचित हुँदै अगाडि बढ्ने संकल्प गरेका छन्।
बैठकले पार्टीका आन्तरिक समस्या र संकट समाधान गर्न सबै एकताबद्ध हुने संकल्प गरेको छ। उनले पार्टीको निर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय भएको पनि बताए।
वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सांसद बनाउने निर्णय गरेर टुंगियो
उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उपयुक्त समयमा सांसद बनाउने निर्णयमा पुगेर टुंगिएको छ। प्रवक्ता श्रेष्ठले भने, 'प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णयभित्रै उहाँ प्रधानमन्त्री बन्ने सम्भावना पनि छ। उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय लिएको छ।'
तीन अध्यक्ष राख्ने प्रस्ताव अस्वीकृत
बैठकले पार्टीमा तीन अध्यक्ष राख्ने प्रस्ताव अस्वीकृत गरेको छ। गत बुधबारको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो वरीयताको अध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। आजको सचिवालय बैठकले त्यसलाई अस्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले भने, 'त्यसरी अध्यक्ष बन्न कमरेड माधव नेपाल आफैं सहमत नभएकाले प्रस्ताव अस्वीकृत भयो।'
२४ गते सचिवालय बैठक
पार्टीले एकता, सहमति र समाधानको निष्कर्षअनुरुप पार्टीलाई दिशा निर्देश गर्ने गरी र त्यसका निम्ति आवश्यक छलफल गर्ने गरी २५ गते स्थायी कमिटी बैठक डाकेको छ। त्यसको अघिल्लो दिन स्थायी समितिमा पेस गरिने प्रतिवेदन र पार्टीको आगामी कार्यदिशा तय गर्न सचिवालय बैठक बस्ने जानकारी प्रवक्ता श्रेष्ठले दिए। उनले भने, '२४ गते बस्ने बैठकले आगामी कार्यदिशा तय गर्नेछ र स्थायी समितिमा पेस गरिनेछ।'
कोरोना भाइरसविरुद्ध एकजुट हुन अपिल
बैठकले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण जोखिम विरुद्ध एकजुट भएर लाग्न सिंगो पार्टीलाई कोरोना भाइरस संक्रमणविरुद्ध अझ एक भएर सबै दल, नागरिक समाज र पार्टी पंक्तिलाई आह्वान गरेको छ।
संसद् बैठक चाँडै
बैठकमा प्रधानमन्त्री केपी ओलीले संसदको बजेट अधिवेशन छिटै बोलाउने जानकारी गराएका थिए। पार्टीमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरी जनताको अपेक्षाअनुरुप सामाजिक आर्थिक रुपान्तरणका पक्षमा काम गर्ने विषयमा पनि छलफल भएको छ। यस्तै आगामी आर्थिक वर्षको बजेटमा कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटलाई समेत सम्बोधन गर्ने निर्णय भएको छ।
पार्टीलाई फुट उन्मुख गर्ने क्रियाकलाप नगर्न निर्देशन
सचिवालय बैठकले पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधि नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ। प्रवक्ता श्रेष्ठले भने, 'पार्टीमा देखा परेको समस्या र संकट समाधान गर्ने गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ।'
उनले पार्टीलाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने, सरकारले देश र जनताका पक्षमा समाजवाद उन्मुख समृद्धि वा सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय भएको बताए।