जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिकाको मेघनाथ गोरहन्नामा मृतकको संख्या ११ पुगेको छ। बर्दिवास–१२ स्थित इँटाभट्टामा काम
गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भंगहा–६ जमुनियाँ बस्ने ४८ वर्षीय पलट साहको शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो।
बर्दिवास–१२ मेघरोल र भंगहा–७ मेघनाथ गोरहन्नामा मंगलबारदेखि शुक्रबारसम्म ९ जनाको मृत्यु भएको थियो। महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले मंगलबारदेखि शनिबारसम्म भंगहा नगरपालिकामा ११ जनाको मृत्यु भएको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको अधिकारीले बताए।
‘मृतकहरु सुरुदेखि नै अत्यधिक मदिरा सेवन गर्नेहरु छन्। कतिपय खानासमेत नखाएर दिनभर रक्सी खानेहरु पनि छन्,’ नेपाल समयसँग एसपी अधिकारीले भने, ‘सुरुआती लक्षण हेर्दा अत्यधिक रक्सी सेवनले उनीहरुको मृत्यु भएको देखिएको छ।’ यद्यपि पोस्टमार्टमको रिपोर्ट आइसकेपछि थप कुरा प्रस्ट हुने उनले बताए।
‘तीनजना मृतकको कोरोना जाँच गरेका छौं, सबैको नेगेटिभ आएको छ,’ उनले भने, ‘पोस्टमार्टमको रिपोर्ट एकदुई दिनभित्र आइसकेपछि मृत्युको कारणबारे स्पष्ट हुन्छ।’
मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव महराको शव परीक्षण गरिएको उनले जानकारी दिए।
यता भंगहामा लगातार मानिसको मृत्यु हुन थालेपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली शनिबार त्यहाँ पुगेको छ।
डा.अमृत पोखरेल र विश्व स्वास्थ्य संगठनका डा. सुदीप खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली बस्तीमा पुगेको हो। टोलीले स्थानीयसँग भेटेर बिरामीको लक्षणबारे जानकारी लिएर अनुसन्धान थालेको छ।
मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भंगहा–६ का एक र भंगहा–७ मेघनाथ गोहरन्नाका ६ जनाको मृत्यु भइसकेको छ।
थारु, मुसहर, चमारसहित दलित समुदायको बसोबास रहेको बस्तीका अधिकांश दैनिक मजदुरी गर्नेहरु रहेको बताइएको छ।