काठमाडौं- सत्तारूढ नेकपा सचिवालयको बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्रीको राजीनामा र स्थायी समिति बैठक मिति तय गर्ने मुख्य एजेन्डा छन्।
बैठकअघि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। यस्तै दिउँसो उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वामदेव गौतम लगायतसँग छलफल गरी सहमति जुटाउने प्रयास गरेका छन्।
अध्यादेश प्रकरणपछि नेकपामा तीव्र विवाद छ। विवादकै बीच १७ गते बसेको सचिवालय बैठकमा नेताहरुले प्रधानमन्त्रीको तीव्र आलोचना गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए।
यसबीचमा सचिवालय सदस्यहरुले विभिन्न गुट उपगुटमा छलफल तीव्र बनाएका थिए। संसद् सदस्यसमेत नरहेका गौतमलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल हुने भएकाले आजको सचिवालय बैठकलाई चासोपूर्वक लिइएको छ।