काठमाडौं- सङ्खुवासभाको मादी नगरपालिका वडा–१ खोलागाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले आफन्त पर्ने एक जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा स्थनीय २६ वर्षीय लोकबहादुर कार्की छन्। उनी हत्या गरिएका तेजबहादुर कार्कीका नातामा भतिजा पर्छन्। कार्कीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।
यसअघि नै प्रहरीले अनुसन्धानको लेन्समा आफन्त र छिमेकीलाई राखेको थियो। अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘बाहिरका मानिसको संलग्नता नभएको पुष्टि भएपछि अनुसन्धान व्यक्तिगत सम्बन्ध र छरछिमेकीतिर सोझिएको थियो।’ यसैमा लोकबहादुरलाई प्रहरीले सन्देशको घेरामा राखेर सोधपुछ गर्दा उनले हत्या स्वीकारेका हुन्।
प्रहरीको अनुसन्धान चै कसरी लोकबहादुरतर्फ सोझियो त? प्रहरीका अनुसार गत सोमबार बिहान हत्या भएका व्यक्ति शव रहेको स्थान देखाएका आधारमा प्रहरीले लोकबहादुरमाथि शंका गरेको थियो। प्रहरीका अनुसार हत्या भएपछि लोकबहादुर आफैँ घटनास्थलमा पुगेका थिए। यसपछि उनले नै प्रहरीलाई शव रहेको स्थान देखाएका थिए। यसैलाई क्लु मानेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। पछि उनैलाई सोधपुछ गर्दा उनले हत्या स्वीकारेको प्रहरीले बताएको छ।
तेजबहादुर कार्की परिवार ६ जनाको शव फरक–फरक ४ स्थानमा फेला परेको थियो। यत्रतत्र छरिएका शव देखाएपछि प्रहरीलाई उनीमाथि शंका उब्जेको थियो ।
यसअघि प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरुको हत्या डाँकाले गरेको हुन सक्ने आशंका गरेको थियो। तर घरमा भएको नगद र गरगहना सुरक्षित भेटिएपछि प्रहरी अनुसन्धान आफन्त र छिमेकीतर्फ मोडिएको थियो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले कार्कीलाई लोकबहादुरलाई सोधपुछका लागि पक्राउ गरिए पनि आइतबार मात्रै सार्वजनिक गरिने बताए। उनले भने, 'हामी अनुसन्धानको अत्यन्त नजिक पुगिसकेका छौँ। भोलिसम्म सबै कुरा बाहिर लाउनेछौँ।'
यस्तै घटना अनुसन्धानका क्रममा पक्राउ परेका लोकबहादुरको घरबाट केही सबुत प्रमाणसमेत फेला परेको प्रहरी स्रोतको दाबी छ। लोकबहादुको घरभित्र रगत लागेको सर्ट र हत्यामा प्रयोग भएजस्तो देखिने रड फेला परेको हो।
मादी–१ का वडा अध्यक्ष खेमनाथ कटुवालका अनुसार आरोपित युवक वैदेशिक रोजगारीबाट दुई वर्षपहिले फर्किएका हुन्। प्रहरीले लोकबहादुरलाई शुक्रबार बेलुका पक्राउ गरेको थियो। कटुवालले आरोपित युवाको घर र हत्या भएको घरको दूरी सय मिटर टाढा मात्रै भएको बताएका छन्।
गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।