काठमाडौं- टेकुस्थित राष्ट्रिय प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट रुना झा कोरोना भाइरसविरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलाकाे सूचीमा पर्न सफल भएकी छन्।
डा. झाले उत्कृष्ट महिलाको सूचीमा पर्न पाउँदा मानवता र मानव स्वास्थ्यका लागि केही राम्रो काम गरेछु जस्तो लागेको प्रतिक्रिया दिइन्। अझ विपत्का बेला सरकारले दिएको जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी लागेको छ। उनले भनिन्, 'रमाइलो लागेको छ। अझ थप केही गर्छु भन्ने आत्मबल बढेको छ।'
उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन्। उनीहरु जोर्डनमा कार्यरत छन्। दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन्।
यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन्। उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन्।
उत्कृष्टको सूचीमा पर्ने अर्की महिला कजाकस्तानकी दिना स्माइलोबा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् भने अर्की रियान्सिया हेनरी क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बरबुढामा कार्यरत रहेको युएनओमनले जनाएको छ।