शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनकाे बहानामा नुनको मूल्य प्रतिकिलो ६० रुपैयाँ !

लकडाउनकाे बहानामा नुनको मूल्य प्रतिकिलो ६० रुपैयाँ !

अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । प्रतिकेजी रु नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा रु ६० मा किनबेच भइरहेको छ ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

जाजरकोट- जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ ।

भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् ।

अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन् ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडकोे डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ ।

स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन ।

यता खच्चडमा नुन ल्याएर बजारमा लुकीछिपी बिक्री गर्ने नुनको मूल्य बारेकोटमा प्रतिकेजी रु ६० रहेको पाइएको छ । सदरमुकाममा प्रतिकेजी रु नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा रु ६० मा किनबेच भइरहेको छ ।

जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी रु नौमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् ।

लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ ।

दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा रु ५० र माथिल्लो भेगतिर रु ६० मा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ ।

सदरमुकाममा रु नौमा एक पोका पाइने नुन बारेकोटमा सात गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट–५ पाखाका प्रेम शाहीले बताए ।

नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए । केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो । –रासस/ हेमन्त केसी

प्रकाशित: May 02, 2020| 09:38 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।