काठमाडौं- आज २९ जुलाइमा ११ अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन राजधानी काठमाडौं उपत्यकामा भएका औपचारिक कार्यक्रममा नेपालमा बाघको बढ्दो संख्यालाई खुशीसाथ व्यक्त गरियो। विगत दश वर्षमा नेपालमा पाटेबाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेकोले संरक्षणकर्मीहरूलाई खुशी तुल्याएको हो।
प्रभावकारी संरक्षण तथा चोरीशिकारीमा नियन्त्रणका कारण बाघको संख्या बढेको हो। तीन वर्षअघि भएको गणनाभन्दा अहिले बाघको संख्या बढेको अनुमान उनीहरूको छ। विश्वबाट लोप हुने अवस्थामा पुगेको पाटेबाघको संख्या बढ्नु उत्हासप्रद भए पनि संख्या बढेसँगै संरक्षणको चुनौती पनि थपिएको छ।
बढ्दैछ चुनौती
हाललाई बाघ संरक्षणको मुख्य चुनौती संख्यामा आधारित व्यवस्थापन हो। बाघले ओगोट्ने स्थान, उसलाई आवश्यक आहारा जीवजन्तुको उपलब्धता, खेल्ने धाँसे मैदान तथा खानेपानीको उचित व्यवस्थापन हुन हुनुपर्ने विज्ञ बताउँछन्।
‘सामूहिक संरक्षण कार्ययोजनाले बाघ, गैंडालगायतका प्रजातिको संख्या बढाउन सकिने प्रमाणित भयो,’ आचार्य भन्छन्, ‘हाम्रो संरक्षण प्रभावकारी भएको संकेत पनि हो। अब बढेको संख्या अनुसार व्यवस्थापनमा केन्द्रित हुन पर्ने देखिन्छ।’
संरक्षण क्षेत्रबाट बाहिर निस्किए बाघ
पछिल्ला अध्ययनले संरक्षण क्षेत्र बाहिर पनि बाघले विचरण गर्न थालेको देखिएको छ। कपिलवस्तु, रुपन्देही र पाल्पालगायतका ठाउँमा अध्ययनका लागि राखिएका क्यामरामा बाघका तस्बिर कैद भएको दिखिएको थियो। यो संरक्षणकर्मीका लागि खुसीको कुरा भएपनि सर्वसाधारणले भने सचेत हुनुपर्ने विषय हो।
पछिल्लो सर्वेक्षणअनुसार १६ हजार १ सय ६१ वर्गकिमी क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमी (६८ प्रतिशत) मा बाघको उपस्थिति देखिएको तथा बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति देखिएको छ। संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा पनि बाघको उपस्थिति पाइन्छ।
‘रुपन्देही र पाल्पाको वन क्षेत्रमा पोथी र कपिलवस्तुको दाङसँग जोडिएको वन क्षेत्रमा भाले बाघ देखिएको थियो,’ उनले भने, ‘यसबाट चुरे क्षेत्रमा बाघको ओहोरदोहोर हुने रहेछ भन्ने पुष्टि भएको छ।’
नेपाल प्रकृति संरक्षण कोषद्वारा प्रकाशित ‘फाउना डाइभर्सिटी इन चुरे रिजन अफ नेपाल’ प्रतिवेदन अुनसार समग्र चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी वन्यजन्तु अध्ययनका लागि राखिएको क्यामरामा कैद भएका थिए। तीमध्ये २० प्रजाति विश्वमै दुर्लभमध्येका हुन्। दुर्लभको सूचीमा बाघलाई पनि समावेश गरिएको छ।
किन संरक्षण क्षेत्रबाहिर निस्कन्छन् बाघ?
‘बाघले जंगलमा आफ्नो क्षेत्र निर्धारण गरी उक्त क्षेत्रमा अर्को बाघलाई बस्न नदिई लखेट्छ। तसर्थ जंगलको क्षमताभन्दा बाघको संख्या धेरै भएमा बुढा, कमजोर र अर्ध–वयस्क बाघ जंगलबाहिर निस्कन्छन्,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुकुमार श्रेष्ठ।
त्यस्ता बाघले घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्छन्। केही वर्षयता चितवन निकुञ्जबाहिर निस्केका बाघमध्ये अधिकांश अर्ध–वयस्क बाघ छन्। सन् २०१० र अहिलेको बाघको संख्या लगभग बराबर हुनुले पनि चितवनमा बाघको संख्या बढेको संकेत गर्छ। बासस्थान सुधारको काम प्रभावकारी नहुँदा बाघलगायत अरु वन्यजन्तुको संख्या पनि घट्न सक्छ।
अबको बाघ संरक्षण रणनीतिले बाघ–मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्नुपर्ने तथा प्रभावकारी संरक्षण योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ।
चोरीशिकारी नियन्त्रणको चुनौती
बाघको संरक्षणको अर्को चुनौती हो चोरीसिकारी नियन्त्रण। निकुञ्जबाट हुने आर्थिक उपार्जनमा स्थानीय सीमान्तकृत समुदायलाई सहभागी नगराएसम्म संरक्षण सफल नहुने श्रेष्ठ बताउँछन्।
‘जबसम्म संरक्षण क्षेत्रबाट हुने फाइदाको पहिलो हकदार स्थानीय हुँदैनन्, जबसम्म संरक्षण क्षेत्रमा गरिने प्रयासले स्थानीयको जनजीवनलाई सहज पार्ने प्रयास गर्दैन, तबसम्म संरक्षण सफल नहुने तर्क छ संरक्षणकर्मी तथा चितवन निकुञ्जको सुरुवाती दिनमा काम गरेका हेमन्त मिश्रको।
‘वन्यजन्तुको चोरी सिकारीलाई नियन्त्रण गर्न पनि कडा कानुनभन्दा पनि निकुञ्जमार्फत हुने आर्थिक उपार्जनमा स्थानीयनलाई समावेश गराउनुपर्छ,’ उनी भन्छन्।
निगरानी गर्न जिपिएस कलर
चितवन पर्सा ब्लकअन्तर्गत पर्सा निकुञ्जको एउटा भाले बाघको घाँटीमा कलर जडान गरेर पहिलो चरणको निगरानीको काम थालिएको विभागका प्रवक्ता आचार्य बताउँछन्।
‘यस कलर जडान पछि सो भाले बाघले हिँड्ने बाटो, हिँडडुल गर्ने समयावधि, आहारालगायतको निगारनी गर्न सकिन्छ,’ उनले भने, ‘यस स्याटालाइट जिपिएस कलर’ले दुई वर्षसम्म सिग्नल दिन्छ।’
सबै बाघमा जिपिएस जडान गर्न सम्भव हुँदैन यद्यपि केही संख्यामा जिपिएसलाई बढाउँदै लान सकियो भने निगरानी र बाघबो आनीबानी र स्वभावको निगरानी गर्न सजिलो हुन्छ।
घातक बन्दै सडक
बाघ र मानवको द्वन्द्व बढ्नुमा सडक पनि प्रमुख कारण देखिएको छ। नेपालका राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र राजमार्ग भएकाले वन्यजन्तु ओहोरदोहोर गर्दा सडक दुर्घटना हुँदा बाघलगायतका वन्यजन्तु मर्ने गरेका छन् भने एक्लाएक्लै हिँड्दा बाघको आक्रमणमा परेर मान्छेले पनि ज्यान गुमाएका छन्।
२०७६÷७७ मा निकुञ्ज र आरक्षण क्षेत्रमा मरेका ४ सय ९५ वन्यजन्तुमा १ सय १९ जन्यजन्तु गाडीको ठक्कर वा सडक दुर्घटनाका कारण मरेका थिए।
पहाड चढ्दै बाघ
मुख्यतः बाघको वासस्थान समथर मैदान भए पनि चुरे क्षेत्रभन्दा माथिको महाभारत पर्वत श्रृंखलामा पनि बाघ भेटिन थालेका छन्।
सन् २०११ सम्म एक हजार मिटरभन्दामाथि नभेटिएको बाघ विगत १५ महिनामा २५ सय मिटरमाथिको दुई स्थानमा देखिएका हुन्।
नेपालको पश्चिमी जिल्ला डलेल्धुराको भागेश्वर जैविक मार्गको २ हजार ५ सय मिटरमा २०७७ वैशाख १ गते बाघ भेटिएको थियो। त्यसको आठ महिनापछि पूर्वी जिल्ला इलामको सन्दकपुरको ३ हजार १ सय ६५ मिटर उचाइमा बाघ भेटिएको थियो।
नेपालको पूर्वी क्षेत्रमा बाघ देखिएको सो पहिलो घटना हो। नेपालमा यो उचाइमा यसअघि बाघ देखिएको थिएन।
किन पहाड चढ्छ बाघ?
सन् २००१ मा संरक्षण अनुसन्धानकर्मी स्वर्गीय प्रल्हाद योञ्जनले भुटानको थ्रुम्सिङ्गला राष्ट्रिय निकुञ्जको २ हजार ७ सय ६५ मिटरमा बाघ हिँडेको फोटो क्यामरा ट्रयाप विधिबाट लिन सफल भएका थिए। सो घटना एक हजार मिटरमाथि बाघ भेटिएको पहिलो घटना थियो।
भुटानको सन्दर्भमा त्यँहाको वनजंगलको तराई–पहाडको श्रृंखला नखल्बलिँदा बाघको वासस्थान यथावत भएको तथा बाघको आहारा टाकिन नामक चौपायाका कारण सो उचाइमा बाघ भेटिएको हुनसक्ने अनुमान स्वर्गीय योञ्जनको थियो।
‘पाँच छ सय वर्षअघि पहाडी क्षेत्रमा पनि बाघ हुन्थे,’ जुलोजिकल सोसाइटी लण्डनको नेपालस्थित कार्यालयसँग सम्बद्ध संरक्षणकर्मी हेमसागर बराल बताउँछन्, ‘पहाडी क्षेत्रको घना जंगल मासिँदै गएपछि बाघ जंगल भएको समथर क्षेत्रमा साघुँरिन पुग्यो।’
संरक्षण कार्यमा भएको प्रभावकारी कामले बाघको संख्या बढेको कारण र देशमा वन क्षेत्र बढेका कारण पनि बाघले आफ्नो क्षेत्र विस्तार तथा आहारा वा पोथीको खोजीको लागि पहाड चढेको हुनसक्ने बरालको अनुमान छ।
बाघको वासस्थान क्षेत्रमा बाघलाई पुग्ने आहारा प्रजाति नहुँदा पनि बाघलाई समस्या परेको हुनसक्ने तर्क छ नेपाल प्रकृति संरक्षण कोषका जैविक विविधता केन्द्र प्रमुख वावुराम लामिछानेको।
‘जलवायु परिवर्तनको प्रभावका कारण बाघ उच्च पहाडमा देखिनु अस्वभाविक होइन तर इलाममा बाघ देखिनुको सुखद संयोग के हो भने लामो समयपछि बाग्मति खोला पारी बाघ देखियो,’ बाघको बारेमा लामो अनुसन्धान गरेका लामिछाने भन्छन्, ‘नेपालको पूर्वी क्षेत्रमा बाघ सम्बन्धि अध्ययन गर्दा जहिले पनि सर्लाही, सप्तरी, महोत्तरी, सिन्धुली, उदयपुरलाई केन्द्रित गरियोे। ती क्षेत्रभन्दा पनि परको इलाममा बाघ देखिनु चाहीँ अलि आश्चर्यकै कुरा भयो। नत्र उचाइमा बाघ नबस्ने होइन।’
उचाइको हिसाबले भुटानमा चार हजार मिटरमाथि तथा भारतमा ३५ सय मिटरमाथि बाघ बस्ने गरेको पाइएको छ।
बिथोलिँदै बासस्थान
बाघ संरक्षणको मुख्य चुनौती संख्यामा आधारित व्यवस्थापन हो। बाघले ओगोट्ने स्थान, उसलाई आवश्यक आहारा जीवजन्तुको उपलब्धता, खेल्ने धाँसे मैदान तथा खानेपानीको उचित व्यवस्थापन हुन नसके बाघ घट्न सक्छन्।
‘बासस्थान सुधारको काम प्रभावकारी नहुँदा बाघलगायत अरु वन्यजन्तुको संख्या घट्न पनि सक्छ,’ संरक्षणविद् नवराज चापागाइँ भन्छन्, ‘त्यसैले, अबको बाघ संरक्षण रणनीतिले बाघ–मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्नुपर्ने तथा प्रभावकारी संरक्षण योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ।’
चापागाइँका अनुसार हालको संरक्षणको प्रमुख चुनौति हो, बाघलगायत ठूला प्रजातिको बासस्थानमा फैलिएको माइकानिया माक्रान्थालगायतका मिचाहा घाँसे प्रजातिको प्रकोप।
‘बाघको आहारा प्रजाति सुहाउँदो घाँसे मैदान घट्दै जानु चिन्ताको विषय हो भने पानीका स्रोत सुक्दै जानु पनि संरक्षणका चुनौती हुन्,’ चापागाइँ भन्छन्, ‘अबको संरक्षण योजना यी विषयमा केन्द्रित हुनुपर्छ।’
नेपालको पूर्वी क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज तथा पश्चिमी क्षेत्रको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी देशभर जम्मा २ सय ३५ बाघ छन्।
सन् २०१६ को तथ्यांकअनुसार बाघको संख्या सबैभन्दा बढी भारतमा २ हजार २ सय २६ र सबैभन्दा कम लाओसमा २ रहेको छ। यी मुलुकबाहेक इन्डोनेसिया, कम्बोडिया, चीन, थाइल्यान्ड, नेपाल, बंगलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमार, रसिया र लाओसमा पनि बाघ पाइन्छ। विश्वभर बाघको संख्या ३ हजार ८ सय ९० रहेको छ। बाघको उपलब्धताको हिसाबले नेपाल आठौं स्थानमा छ।
सन् २०१० मा रुसको पिटसबर्गमा बाघको वासस्थान भएका मुलुकका प्रमुखहरूको पहिलो सम्मेलनले बाघ संरक्षणलाई प्रभावकारी बनाउन २९ जुलाईलाई ‘बाघ दिवस’ मनाउने प्रतिबद्धता गरेको थियो। सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या तत्कालीन अवस्थाबाट दोब्बर पार्ने घोषणा पनि गरे अनुसार नेपाल पनि बाघको संख्या बढाउन लागिपरेको छ।