स्वदेशमा काम नपाएर मजदुरी गर्न भारतको नयाँ दिल्ली गएका रुपन्देहीका एक युवालाई मजदुर दिवसका दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुरनीहवाका ती युवा घरमा खान–लाउनै समस्या भएपछि कामका लागि दिल्ली गएका थिए।
कोरोनाका कारण भारतमा बन्दाबन्दी (लकडाउन) भएपछि उनले काम गर्ने ठाउँमा पनि मन्दी शुरु भयो। काम नभएपछि उनी यही वैशाख ५ गते घर फर्किएका थिए। नजिकका आफन्तका अनुसार उनी ठोटरी नाकाबाट हिँड्दै नेपाल प्रवेश गरेका हुन्।
ती युवामा कोरोना भएको पुष्टि आज (शुक्रबार) स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर गरेको छ। पोजेटिभ रिपोर्ट आएपछि उनलाई आजै बुटवल धागो कारखानामा तयार गरिएको कोरोना विशेष अस्पतालमा लगिएको छ।
आज बिहानसम्म उनी मर्चवार आदर्श उच्च मावि मझगावको क्वारेन्टाइनमा रहेका थिए। उक्त क्वारेन्टाइनमा अहिले पनि १६ जना छन्। उनीहरु सबैको स्वास्थ्य जाँच भइरहेको छ।
हिजोमात्रै सीमावर्ती भारतीय सहर महाराजगन्जमा एक जनामा कोरोना पुष्टि भएको थियो । प्रहरीले सीमामा उच्च सुरक्षा दिँदै आवतजावतमा रोक लगाएको भए पनि ती युवा वैशाख ५ गते सीमाबाट प्रवेश गरेका थिए।
आफ्नो गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि कोटहीमाईका अध्यक्ष चन्द्रभुषण यादवले लकडाउनमा कडाइ गर्नुको विकल्प नभएको बताएका छन्। उनले भने, ‘हामी सचेत र सतर्क हुनुपर्छ । उनको उपचार सुरु भइसकेको छ। लकडाउनमा अझ कडाइ जरुरी छ ।’
कोरोना पोजेटिभ देखिएका युवाको वैशाख १७ गते स्वाब संकल गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘त्यसदिन २४३ जनाको नमुना संकलन भएको थियो । यहाँ किट अभाव भएका कारण १०९ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यसैमध्ये एक जनामा पोजेटिभ देखिएको हो।’ अझै ५० भन्दा बढी नमुनाको रिजल्ट आउन बाँकी रहेको डा. गिरीले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो जारी गरेको विज्ञप्तिअनुसार आजै नेपालगन्जका ६० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।