आज वैशाख शुक्ल नवमी । माता सीताको जन्मदिन । जानकी नवमी श्रद्धापूर्वक मनाइँदै छ । वैशाख शुक्ल नवमीकै दिन सीताको जन्म भएको पौराणिक मान्यताअनुसार जानकी नवमी श्रद्धापूर्वक मनाइने गरिन्छ ।
यसअघि जनकपुरमा साताव्यापी कार्यक्रमसहित जानकी नवमी मनाइने गरिन्थ्यो । जानकी नवमीमा नेपाल तथा छिमेकी भारतका श्रद्धालुहरुको ठूलो संख्यामा भीडभाड हुने गर्थ्यो । गतवर्ष जानकी नवमीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेसका उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरु जनकपुर पुगेका थिए ।
तर, यसवर्ष जानकी नवमीको दिन पनि जानकी मन्दिर सुनसान छ । कोरोना महामारी रोकथाम गर्न जारी लकडाउनका कारण जानकी नवमीमा समेत जानकी मन्दिरको गेट बन्द छ । अन्य वर्षहरु जानकी नवमीको दिन बिहानैदेखि मन्दिरमा पूजाअर्चना गर्नेहरुको भीडभाड रहेपनि यस वर्ष कोही पुगेका छैनन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास लकडाउनले यस वर्षको जानकी नवमी प्रभावित भएको बताए । दासले लकडाउनले यस वर्ष जानकी नवमीको अवसरमा हुँदै आएको सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको बताउँदै मन्दिरभित्र सामान्य पूजाअर्चनामात्र गरिएको जानकारी दिए ।
‘लकडाउनको पूर्ण पालना गरेका छौं, मन्दिरको गेटसमेत खुलेको छैन,’ उनले भने, ‘मन्दिरभित्रै बधाई गान र आरतीमात्र गरिएको छ, अन्य कुनै कार्यक्रम भएको छैन ।’