काठमाडौं– पार्टी फुटने डरले हतार हतार गरिएको राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीचको एकीकरणलाई राजपा अध्यक्ष मण्डलले अनुमोदन गरेको छ।
राजपा अध्यक्ष मण्डलका सदस्यहरुबाटै दुई पार्टी एकीकरणमा असन्तुष्टि प्रकट भइरहेको चर्चा चलिरहेका बेला मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सर्वसम्मतीले अनुमोदन गरेको राजपा अध्यक्ष मण्डलका महेन्द्र राय यादवले जानकारी दिएका छन्।
यसअघि राजपा अध्यक्ष मण्डलका दुई जना सदस्य राजकिशोर यादव र अनिल झाले एकता प्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनीहरु एकताका लागि भएको बैठकमासमेत सहभागी थिएनन्।
उसो त राजपा र समाजवादी एकीकरणको चर्चा चलेको धेरै भइसकेको छ। पदमा कुरो नमिल्दा अध्यक्ष मण्डलमा ६ जना नेता राखेर पार्टी चलाइरहेको राजपा र दुई अध्यक्ष भएको समाजवादीको एकीकरणपछि बनेको जनता समाजवादीमा नेतृत्व कसको हुने भन्ने अझै टुंगो लागेको छैन।
पार्टी एकीकरणबारे निर्वाचन आयोग र संघीय संसदलाई जानकारी गराइए पनि एकीकरणको वैधानिक प्रक्रिया अझै पूरा भइसकेको छैन।
११ वैशाखमा राजपा नेपाल र समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको जानकारी आयोगमा गराइएको थियो।
निर्वाचन आयोगका सहसचिव अनुसार सहमतिपत्र आयोगमा बुझाइएपनि दल दर्ताका लागि निवेदन अझै परिसकेको छैन।
राजनीति दल सम्बन्धी ऐन, २०७३ अनुसार कुनै पनि दलले एकताका लागि सहमतिपत्र बुझाएको ४५ दिनभित्र विधानसहित आवश्यक कागजात बुझाएर दर्ताका लागि आयोगमा निवेदन दिइसक्नुपर्छ।
हस्ताक्षर संकलन हुँदै
राजपा र समाजवादीको एकतालाई निर्वाचन आयोगबाट वैधानिकता दिलाउनका लागि दुबै दलका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिंदैछ। दुई प्रति कागजमा हस्ताक्षर संकलन र सबैको एक एक प्रति फोटो माग गरिएको पार्टी सचिवालयले जनाएको छ।
राजपामा १३४ पदाधिकारीसहित ७९४ सदस्यीय केन्द्रीय समिति छ। प्रतिनिधिसभामा १७ जना र राष्ट्रियसभामा २ जना सांसद छन्।
समाजवादी पाटीमा २५ जना पदाधिकारीसहित ४३१ केन्द्रीय समिति सदस्य छन् । समाजवादीको प्रतिनिधिसभामा १७ जना र राष्ट्रियसभामा एक जना सांसद छन्।
‘सांसद अपहरण’को चर्को विरोध हुने
समाजवादी पार्टी फुटाउन सांसद सुरेन्द्र यादवको अपहरण प्रकरणको नवगठित जनता समाजवादी पार्टीले चर्को विरोध गर्ने जनाएको छ।
पार्टीले उक्त प्रकरणको विरोधमा प्रत्येक जिल्लामा विरोधको कार्यक्रम गर्ने बताए पनि बन्दाबन्दीका बेला कस्तो कार्यक्रम गर्ने भन्ने प्रस्ट्याएको छैन।