विवेकशील नेपाली दलले सांसद विकास कोष सधैंका लागि खारेज गर्न माग गरेको छ। कोषका नाममा सांसदको विधायिकी भूमिकालाई ओझेलमा पारिएको दलको भनाइ छ।
'लोकतन्त्रको एउटा प्रमुख सुन्दरता शक्ति सन्तुलन हो। विधायिकाले नीति, कानून बनाउने, कार्यपालिकाले कार्यान्वयन गर्ने र न्यायपालिकाले कानूनको व्याख्या गर्दै न्यायिक भूमिका निर्वाह गर्ने हो। तर, विगत साढे दुई दशकयता ‘सांसद विकास कोष’ को नाममा सांसदहरूको विधायिकी भूमिकालाई नै ओझेलमा पार्ने गरेर कार्यकारी तहका विकासका गतिविधिमा संलग्न गराइएको थियो। जसमा ‘स्वार्थको द्वन्द्व’ हुनु त स्वाभाविक नै भयो, यसले भ्रष्टाचारलाई बढावा दिंदै लोकतन्त्रलाई फोहोरी बनाउने काम पनि गरिरहेको थियो,' विज्ञप्ति जारी गरेर उसले भनेको छ।
नागरिक तह, मिडिया, सांसदहरू, विभिन्न पार्टीहरूसहित विवेकशील नेपाली दलले पनि विगत ४ वर्षदेखि यो मुद्दालाई खारेज गरौँ भनेर आफ्नो बुझाइ निरन्तर रूपमा राख्दै आएको विज्ञप्तिमा उल्लेख छ।
'यसै सन्दर्भमा वैशाख १७ गते प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि यस कोषलाई खारेज गर्न माग गर्ने निर्णयलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । साथै, नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले विगतमा यस कोषलाई निरन्तरता दिएकोमा नेपाली नागरिक समक्ष क्षमा याचना गर्दै भविष्यमा यो र यस्ता किसिमका कोषको पुनरावृत्ति नगर्ने प्रतिबद्धता जनाउँदा उपयुक्त हुन्थ्यो भन्ने हामी ठान्दछौँ,' विज्ञप्तिमा भनिएको छ।
यो वर्षको कोषलाई कोरोना रोकथाम कोषमा परिणत गरी आउने वर्षदेखि यस कोषलाई खारेज नै गर्न सरकार, संसद अनि सम्बन्धित सबैलाई दलले अपिल गरेको छ। साथै, हाल सञ्चालित कोरोना रोकथाम कोषको सञ्चालनमा स्वीकार्य विधि, प्रक्रियाका साथै पूर्ण पारदर्शिता पालना गर्न पनि संघ, प्रदेश र स्थानीय सरकारहरूको ध्यानाकर्षण गराएको छ।