काठमाडौं- सरकारले नेपाली सेनाका ६ उपरथीको सरुवा गरेको छ। सैनिक मुख्यालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले ६ उपरथीको सरुवा गरेको हो।
सरुवा हुने उपरथीहरुमा आनन्द अधिकारी, निरन्जन श्रेष्ठ, अशोक सिक्देल, शशिचन्द्रबहादुर सिंह, बालकृष्ण कार्की र सीताराम खड्का छन्। उपरथी आनन्द अधिकारीलाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको छ।
यस्तै, श्रेष्ठलाई तालिम महानिर्देशनालय, सिक्देललाई संभाररथी विभाग प्रमुख, सिंहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र खड्कालाई निरीक्षणाधिकृत प्रमुखको जिम्मेवारी दिइएको छ।
यस्तै, प्रधानसेनापति पूर्णचन्द्र थापापछि प्रधानसेनापतिको दाबेदार मानिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा गरिएको छ। मन्त्रिपरिषद् बैठकको वैशाख १४ गतेको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ।
सेनामा दुई जना रथीको दरबन्दी छ। दोस्रो वरीयताका रथी (बलाध्यक्ष) गौरव तण्डुलले उमेर हदका कारण अवकाश पाएका छन्।
अर्का रथी शरद गिरीले पनि आगामी असार ६ गते अनिवार्य अवकास पाउँदैछन्। उनको ठाउँमा वरीयताका आधारमा उपरथी ईश्वर हमाल वा राजेन्द्र कार्की रथीमा बढुवा हुनेछन्। गिरीको रथीमा अवकाससँगै शर्मा प्रधानसेनापतिपछि सेनाको दोस्रो वरीयतामा हुनेछन्।
उपरथी ईश्वर हमाल अनडफको फोर्स कमान्डरमा छनोट भइसकेका छन्। अर्का उपरथी कार्की भने हाल सेनाको युद्धकार्य महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्। शर्मा रथीमा बढुवा भएसँगै उनको हालका प्रधानसेनापति थापाको अवकासपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ।
प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाउँदैछन्। शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधि २०७८ पुससम्म कायम रहनेछ।