काठमाडौं– संखुवासभाको मादी–१ मा छ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। घरका अन्य सदस्य पनि आएपछि अरूमाथि पनि आक्रमण गर्न बाध्य भएको उनलाई उधृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए।
लोकबहादुरले सोमबार बिहान तेजबहादुरलगायत परिवारका ६ जनाको हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ। ‘उहाँ बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागिरहनुभएको थियो। सोही बेला मैले प्रहार गरेको हुँ। परिवारका अन्य सदस्यले पनि देखेपछि सबैमाथि आक्रमण गरेको हुँ’, प्रहरीसँगको बयानमा लोकबहादुरले भनेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोमबार बिहान तेजबहादुर छिमेकी लोकबहादुरको घरमा धान गोड्नका लागि बोलाउन गएका थिए। बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको थियो। लोकबहादुरले घर गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लोकबहादुरले आफूलाई तेजबहादुर कार्कीले सधैं हेप्ने गरेकाले परिवार नै सखाप बनाएको बताएका छन्। विदेश गएर दुई छोरोले कमाएको भनेर तेजबहादुरले घमण्ड गर्ने गरेकाले आफूलाई रिस उठेको बयान लोकबहादुरको छ।
अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘बाहिरका मानिसको संलग्नता नभएको पुष्टि भएपछि अनुसन्धान व्यक्तिगत सम्बन्ध र छरछिमेकीतिर सोझिएको थियो।’ यसैमा लोकबहादुरलाई प्रहरीले सन्देशको घेरामा राखेर सोधपुछ गर्दा उनले हत्या स्विकारेका हुन्।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले कार्कीलाई लोकबहादुरलाई सोधपुछका लागि पक्राउ गरिए पनि आइतबार मात्रै सार्वजनिक गरिने बताए। उनले भने, ‘हामी अनुसन्धानको अत्यन्त नजिक पुगिसकेका छौं। भोलिसम्म सबै कुरा बाहिर लाउनेछौं।’
घटना अनुसन्धानका क्रममा पक्राउ परेका लोकबहादुरको घरबाट केही सबुत प्रमाणसमेत फेला परेको प्रहरी स्रोतको दाबी छ। लोकबहादुको घरभित्र रगत लागेको सर्ट र हत्यामा प्रयोग भएजस्तो देखिने रड फेला परेको हो।