कोरोना भाइरसको विश्वव्यापी संक्रमण अन्त्य भएपछि खेलकुदका गतिविधि पनि सुरु हुनेछन्। अबका खेलकुद ‘टप–डाउन’ होइन, ‘बटम–अप’ प्रणालीबाट सुरु गर्नुपर्ने विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य सल्लाहकारले बताएका छन्।
लन्डनका पूर्व जनस्वास्थ्य निर्देशक डा. ब्रियन म्याक क्लोस्कीले सामुदायिक खेलकुद कोरोनापछि फर्किने मुख्य खेलकुद भएको बताएका छन्। उनले यो समरका लागि ठूला प्रतियोगिताहरु चुनौतीपूर्ण हुने बताउँदै साना प्रतियोगिताबाट खेल फर्काउनुपर्ने सुझाएका हुन्।
इंग्ल्यान्ड, फ्रान्स, जर्मनी लगायत विश्वभरी मध्य मार्चबाट व्यावसायिक र अर्धव्यावसायिक, लिग र अन्य प्रतियोगिताका साथै ग्रासरुट र अवैतनिक खेल स्थगित भएका छन्। चीनमा त त्यसअघि नै सबै प्रतियोगिता स्थगित भएका थिए।
इंग्ल्यान्डमा फुटबल, रुग्बी, क्रिकेट, घोडचडीलगायतका प्रमुख खेलका प्रतिनिधिले यसै हप्ता सरकारका मेडिकल विशेषज्ञसँग भेटेर कामको बारेमा योजना बनाएका छन्।
तैपनि पुरुष फुटबलका सन्दर्भमा पाँचौ तहदेखि आठौं तहसम्मका खेल स्थगित भएका छन्। यता प्रिमियर लिग र इंग्लिस फुटबल लिग भने जुनबाटै सुरु गर्ने भनिँदै आएको छ।
क्लब र लिगले यसो भनिरहँदा क्लोस्कीले सोच्छन्, ‘सायद यो वसन्तको अन्तिममा वा गर्मी यामको सुरुमै स्थानीय क्षेत्रका क्लब र मैदान पुनः खुलाउन धेरै नै सजिलो हुनेछ।’ तर उनी खेल पिरामिडमा उच्च तहका खेलकुद शंकाको घेरामै देख्छन्।
‘ठूलो खेल भनेको ठूलो प्रतिस्पर्धा पनि हो। यस्ता प्रतियोगितामा काम गर्न अप्ठ्यारो हुन्छ। त्यसैले उनीहरुले सबै काम सुरक्षित रुपले गर्नुपर्छ भन्ने मुख्य कुरा हो,’ उनले बीबीसीसँग भने।
‘ठूलाखाले एक प्रतियोगितामै देश विदेशका धेरै ठाउँमा घुम्नुपर्ने हुन्छ। जुन यो अवस्थामा जटिल छ। तर एक स्थानीय क्षेत्रको खेल, जस्तै सामुदायिक फुटबल, सामुदायिक दौड सञ्चालन गर्न आयोजकलाई कुनै गाह्रो पर्दैन। ठूला प्रतियोगिताले भने यो गृष्मलाई चुनौती दिएकै छ,’ क्लोस्की थप्छन्।
यसैबीच इंग्ल्यान्ड खेलकुदले २० मिलियन पाउन्ड समुदायिक आपतकालका लागि छुट्याएको छ। जसमा ८ मिलियन भने यसअघि नै बाँडिएको छ। यसरी नै सबै देशमा ग्रासरुटका प्रतियोगिता पहिलो प्राथमिकतामा राखिनु पर्दछ।
तर यसबाहेकका ओलम्पिक, पारालम्पिक लगायतका अन्य खेल भने फरक विषयका कारण चर्चामा छन्। तिनीहरुमा ठूलो सरकारी लगानी भएएको छ। त्यसैले ति प्रतियोगिता आयोजना गर्न राष्ट्रहरुको तयारी तिब्र छ।
पार्करन जस्तै खेलमा स्थानीय सुरुवात
म्याक क्लोस्कीका अनुसार भीड जम्मा हुने समय विचार गरेर त्यसको अगाबै म्याराथन दौड र टेनिस पनि स्थानिय स्तरबाटै सुरु हुनु पर्छ।
दौडमध्ये लन्डन म्याराथन स्थगित भएको एक प्रतियोगिता हो। यो शरदसम्मका लागि स्थगित भएको छ।
‘यदि हामी दौडजस्ता प्रतियोगिता कुरिरहेका छौं भने पार्करनलाई राम्रो विकल्पका रुपमा लिन सक्छौं। किनभने सयमा देशविदेश जानु पर्दैन। यो सामुदायिक प्रतियोगिता हो। यसलाई समायोजन गर्न पनि त्यति धेरै गाह्रो छैन,’ उनले भने।
यदि यस्तो प्रणलीको सुरुवात गर्यौँ भने भीडभाडमा कसरी सामुदायिक दुरी कायम गर्ने भनेर सिक्ने अवसर पाउने क्लोस्केको तर्क छ। त्यसैले यो कार्यले सहरको म्याराथन कसरी गर्ने ? मानिस व्यवस्थापन कसरी गर्ने ? र ठूला प्रतियोगिता कसरी गर्ने ? भन्ने कुरा सिकाउँदै जान्छ।
फुटबलको सुरुवात कसरी ?
जुन ८ बाट प्रिमियर लिग सुरु गरिने आशा गरिएको छ। ‘खेल फेरि सुरु गर्ने योजना’ नाम दिएर यसलाई फेरि सुरु गर्न लागिएको बताइएको छ। क्लोस्कीको विचारमा यो सम्भावित पनि छ। तर फुटबल, रुग्बीजस्ता धेरै मासि सम्पर्गमा आउने खेलमा आइपर्ने चुनौती घटाउन भने ठूलो समस्या छ।
फिफाका मेडिकल चिफ माइकल डीहोघेले फुटबल फेरि सुरु भएपछि यसले जीवन–मृत्युको परिणाम भित्र्याउनेमा संदेश पैदा गर्ने बताउँछन्।
त्यसैले प्रिमियर लिगले बन्द ढोकाभित्र प्रतियोगिता सञ्चालन गर्ने बताएको छ। यसले गर्दा मानिस जम्मा हुन पाउँदैनन र रोग सर्ने सम्भावना न्युन हुन जान्छ।
क्लोस्के भन्छन्, ‘ठूलो भीड नहुँदा स्टेडियम भित्र जान र आउन सजिलो हुन्छ। र, व्यावस्थापन पनि सजिलो त हुन्छ। तर हामीले खेलका अफिसियाल, खेलाडी, प्रशिक्षक र टीभी क्यामेराका मानिस कसरी आउजाउ गर्छन भन्ने कुराको पनि हेक्का राख्नु पर्छ।’
‘अन्त्यमा प्रिमियर लिग, लालिगा बुन्डेसलिगाले यो समस्या पनि समाधान गर्ला। सानो संख्याका मानिसलाई सामाजिक दुरी कायम गरेर राख्न सकिएला। तर अझै लिगलाई अर्को चुनौती छ। लिग र क्लबलाई फ्यानभन्दा पैसा धेरै आवश्यक तत्व हो। उसले खर्चको जोहो कसरी गर्छ ?’ क्लोस्केले प्रश्न गरेका छन्।
भ्याक्सिनबिनै टोकियो ओलम्पिक सम्भव
गत मंगलबार टोकियो ओलम्पिक २०२० का अध्यक्ष योस्हिरो मोरीलेले फरि ओलम्पिक सार्नुपर्ने भए प्रतियोगिता रद्द गरिने बताएका थिए। उनले सन् २०२१ को जुलाई २३ बाट पनि प्रतियोगिता गर्न नसकिने भए रद्द हुने बताए।
तर केही स्वास्थ्य विज्ञले अर्को समरका लागि कोरोनाविरुद्धको भ्याक्सिन र औषधि नभइकन पनि आयोजना गर्न सकिने बताएका छन्। यसबारे टिप्पणी गर्दै क्लोस्कीले अन्तराष्ट्रिय ओलम्पिक कमिटीले यो काम गरेमा व्यापक असावधानी हुने बताएका छन्।
‘ओलम्पिक आउन अझै १५ महिना बाँकी छ। त्यसका लागि भ्याक्सिन सबैभन्दा महत्वपूर्ण छ। र, त्यस समयसम्ममा महामारी कम हुनेमा आशावादी बन्न सक्छौं,’ उनले भने, ‘अहिलेको आवस्थामा चुनौतीको आँकलन गरेर अगाडि बढ्नुको विकल्प छैन । त्यस समयसम्म भ्याकसिन बन्यो भने धेरै सुरक्षित भएर खेल गराउन सकिन्छ बनेन भने पनि खेल सम्भव छ तर सुरक्षित भने हुन सक्दैन।’
- लाउरा स्कट (बीबीसी)