लकडाउनका कारण महाकाली पारी भारतमै थुनिएका मजदुरलाई स्वदेश प्रवेश गराइने भएको छ। एक महिनादेखि भारत पिथौरागढको धार्चुलामा क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको आज उद्धार हुन लागेको हो।
क्वारेन्टाइनमा बस्ने अवधि सकिए पनि उद्धार हुन नसकेका एक हजारभन्दा बढी नेपाली मजदुरको आज उद्धार हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच सिमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने सहमति भएको थियो।
गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढी नेपाली बसिरहेका छन्।
उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको यातायात व्यवसायी लवराज अवस्थीले बताए।
नेपालीलाई दुई वटा नाकाबाट ल्याइँदैछ। सिमावर्ती धार्चुलामा १० जिल्लाका नागरिक छन्। बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने र दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिज पौडेलले जानकारी दिए।
सीमा नाकामा चेकजाँच पछिमात्र प्रवेश गराइने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राखिने पौडेलले बताए। सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक पटक छलफल भएपनि सहमति हुन सकेको थिएन। सरकारले उद्धार नगरेपछि केही नागरिक भने महाकाली नदीमा हेलिएर स्वदेश प्रवेश गरेका छन्।