घटनामा चिनेजानकै व्यक्तिको हात हुनसक्ने अनुमान गर्दै प्रहरीले सोही आधारमा अनुसन्धान थालेको थियो।
बौदमान कार्कीका परिवारका चार पुस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी किरियामा बसेका छन्। ९३ वर्षीय बौदमान भने त्यति आँखा देख्नैनन् र कान पनि सुन्दैनन्। परिवारमा रहेका सातमध्य छ जनाको हत्या हुँदा उनी भने बचेका थिए।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेपछि बुधबार बेलुका इटहरीस्थित बूढीगंगा जमुना मुक्ति घाटमा उनीहरूको सामूहिक दाहसंस्कार गरिएको थियो। दाहसंस्कारपछि किरिया बस्नेहरू बिहीबार बेलुका मादीस्थित घर पुगेका थिए। तेजबहादुरका कान्छो छोरा नरेश, बुहारी र दुई छोरी किरियामा बसेका छन्। वैदेशिक रोजगारीका लागि दुबईमा रहेका नरेश आएपछि किरियामा बसेका हुन्।
मनको धनी थियो कार्की परिवार
मादी नगरपालिका—१ उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्की गाउँकै सहयोगी थिए। सिंगो परिवार नै गाउँमा सहयोगीको रूपमा चिनिन्थ्यो। छरछिमेकमा आर्थिकदेखि लिएर अरू समस्या पर्दा कार्की परिवारले सहयोग गर्ने गरेको वडाध्यक्ष खेमनाथ कटुवाल बताउँछन्।
उनका अनुसार कार्की परिवारले वार्षिक ७/८ मन अलैंची उत्पादन गर्थे। दुई छोरा वैदेशिक रोजगारीमा भएकाले घरमा थोरबहुत रकम टुट्दैन थियो,’ कटुवालले भने, कार्की परिवार मनको धनी थियो। अब त्यो परिवारको साथ कसैले पाउने छैनन्।’ शोकमा डुबेको खोलागाउँलाई पुरानै अवस्थामा फर्कन समय लाग्ने वडाध्यक्ष कटुवालले बताए।
मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप पनि कार्की परिवारलाई खोलागाउँले कहिल्यै बिर्सन नसक्ने बताउँछन्। ‘मिजासिलो परिवार थियो,’ उनले भने, ‘यति राम्रो सहयोगी परिवार पाउनै गाह्रो छ।’