बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा नेताहरु शक्ति परीक्षणमा, हस्ताक्षर अभियान चलाउँदै

नेकपा नेताहरु शक्ति परीक्षणमा, हस्ताक्षर अभियान चलाउँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरु आफ्नो गुट बलियो बनाउन हस्ताक्षर अभियानमा जुटेका छन्।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरु आफ्नो गुट बलियो बनाउन हस्ताक्षर अभियानमा जुटेका छन्।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत बैशाख ८ गते दुई विवादित अध्यादेश ल्याएपछि सुरु भएको पार्टीभित्रको असन्तुष्टि हस्ताक्षर अभियानसम्म पुगेको हो।

अध्यक्ष ओलीले मनोमानी गरेको र सरकार संचालन गर्दा पार्टीलाई बाइपास गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एक ठाउँमा उभिएर विरोध गरेपछि पार्टीभित्रको कलह छताछुल्ल भएको छ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको माग पनि चर्को रुपमा उठ्न थालेपछि अध्यक्ष ओली सचिवालय बैठकबाटसमेत पन्छिँदै गएका छन्।

पार्टीका अन्य गुटको अस्तित्व स्वीकार नगर्ने र मनोमानी ढंगले पार्टी तथा सरकार सञ्चालन गर्न खोजेपछि अध्यक्ष दाहाल, नेपाललगायतका नेताहरु निरन्तर छलफलमा जुटेको बेला ओलीले सांसदहरु बटुलेर आफ्नो पक्षमा जनमत जाँच गर्न सुरु गरे।

उनले मंगलबार नेकपा सांसदलाई बालुवाटारमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका थिए।

उनले आफ्नो पक्षमा रहेका सांसदहरुको लिस्ट तयार गर्न थालेपछि बुधबार दाहाल र नेपाल समूहले पनि हस्ताक्षर अभियान सुरु गरेको छ।

सांसदहरुलाई एक–एक गर्दै बोलाउने र हस्ताक्षर गर्न लगाउने काम दुबै पक्षबाट भइरहेको एक नेताले बताए।

काठमाडौंमा रहेका एक सांसदका अनुसार उनलाई दुबै पक्षको सचिवालयबाट फोन आएको छ।

आफू कुनै कतै पनि नगएको दाबी गर्दै उनले सम्भवत हस्ताक्षर गरेर आफ्नो पक्षमा कति सांसद छन् भन्ने थाहा पाउन नेताहरुले यस्तो अभियान चलाएको हुन सक्ने बताए।

केही दिनयता नेकपाभित्रै अध्यक्ष ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद त्याग्न दबाव बढ्न थालेको छ।

पार्टी अध्यक्षबारे खुलेर बोल्न नसक्ने नेताहरुले पनि आफ्नो यस प्रकारको विचार विभिन्न सञ्चारमाध्यमबाट व्यक्त गर्दै आएका छन्।

पार्टीको बैठक नबोलाउने, कोरोना भाइरसको महामारीको समयमा अनावश्यक निर्णय र नियुक्तिहरु गर्ने तथा यस विषयमा पार्टीमा कत्ति पनि छलफल नगर्ने प्रवृत्तिका कारण पार्टीभित्रको ठूलो पंक्ति अध्यक्ष ओलीसँग रुष्ट बनेको छ।

दुबै पक्षले हस्ताक्षर अभियान सुरु गरे पनि यो अभियान सरकार गिराउने र बनाउने खेलका लागि भने नभएको नेताहरुको दाबी छ।

प्रकाशित: Apr 29, 2020| 16:28 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।