यदी अर्को वर्षको अन्तिमसम्ममा पनि कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रणमा नआए टोकियो ओलम्पिक २०२० रद्द गरिने आयोजक समितिका अध्यक्ष योयिरो मोरीले बताएका छन्। कोरोनाका कारण एक वर्ष पछाडि सारिएको प्रतियोगिता अझै धकेल्न नमिल्ने भन्दै उनले यदी त्यस्तो अवस्था आइपरे ओलम्पिक नै रद्द गरिने बताए।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान सरकारले यसअघि नै प्रतियोगिता एक वर्ष पर सारेका छन्। अब प्रतियोगिता सन् २०२१ को जुलाई २३ मा सुरु भएर अगष्ट ८ मा समापन गर्ने योजना छ।
टोकियो ओलम्पिक २०२० का अध्यक्ष मोरीले जापानको निक्कोन स्पोर्टस् डेलीसँग भने, ‘महामारीका कारण प्रतियोगिता एक वर्ष पछि सारिसकिएको छ। फेरि स्थगन गर्न सक्ने अवस्था छैन। यदी पुनः स्थगन गर्नुपर्ने अवस्था आयो भने यो रद्द नै हुन्छ।’
उनले पहिले पनि विश्वयुद्धको समयमा प्रतियोगिता रद्द गरिएको बताउँदै फेरि एकपटक विश्वयुद्ध भइरहेको जनाएका छन्। उनले भने, ‘हामी अहिले नांगो आँखाले नदेखिने शत्रुसँग लडिरहेका छौं। यो पनि एक प्रकारको विश्वयुद्ध नै हो।’
यद्यपि मोरीले कोरोनाको महामारी छिट्टै अन्त्य हुने र अर्को समरमा शान्तिपूर्ण ढंगले ओलम्पिक गर्न पाउनेमा आशावादी रहेको पनि बताएका छन्। ‘मानिस कोरोनाविरुद्ध लडिरहेका छन्। आशा छ अर्को समरमा शान्तिपूर्ण ढंगले प्रतियोगिता गर्न पाउने छौं’, उनले भने।
टोकियो ओलम्पिक आयोजक समितिका प्रवक्ता मासा तकायाले भने अध्यक्षको भनाईप्रति आलोचना गरेका छन्। उनले मोरीको भनाइलाई आधिकारी नमान्न पनि आग्रह गरेका छन्। ‘अध्यक्षको त्यो व्यक्तिगत विचार होला। अभिव्यक्ति राख्न पाइन्छ तर समितिको निर्णय कदापी यस्तो हुने छैन्’, प्रवक्ताले भने।