काबुल- विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक एन्थिए वेबले अफगानिस्तानमा ९० प्रतिशत अफगानीहरुलाई खाद्यान्नको अभाव भएको बताएका छन्। उनले १० मध्ये ९ परिवारले पर्याप्त खाना खान नपाएको बताएकी हुन्।
उनले भनिन्, 'अगस्त १५ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि खाद्यान्नमा चरम संकट सिर्जना भएको छ। परिवारका सदस्यहरुले खाना कम खाने, वयस्कहरुले खाना जोगाएर बच्चाहरुलाई पर्याप्त खाना दिनेलगायतका कामहरु गरिरहेका छन्।'
१७ जुनदेखि ५ सेप्टेम्बरसम्म करिब एक हजार ६०० परिवारलाई गरिएको र्यान्डम फोन कलबाट उक्त निष्कर्ष निकालिएको जनाइएको छ। अफगानिस्तानको सहायताका लागि अन्तर्राष्ट्रिय सम्मेलन सोमबार हुने भए पनि उनले दाताहरुलाई २०० मिलियन अमेरिकी डलरको सहयोग आवश्यक परेको बताएकी छन्।
खाद्यान्न संकट सिर्जना भएसँगै अफगानिस्तानमा खाद्यान्नको मूल्य पनि चर्को वृद्धि भएको छ। अमेरिकालगायतका मुलुकहरुले आफ्नो सेना फिर्ता गरेपछि विदेशी सहायतामा पनि प्रतिबन्ध लगाएसँगै अफगानिुस्तान चरम आर्थिक संकटमा फस्दै गएको हो ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि अफगानिस्तानलाई सहायता दिन रोक लगाएका छन्। अफगानिस्तानमा तालिबान सरकार बनेसँगै चीनले ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।