वाशिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिकी समकक्षी जो बाइडेनसँग सात महिनापछि पहिलो पटक वार्ता गरेका छन्। दुई शक्ति राष्ट्रका प्रमुखहरुबीच सात महिनापछि पहिलो पटक टेलिफोन कुराकानी भएको बीबीसीले जनाएको छ।
वार्तापछि वाशिङ्टनस्थित ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुबै नेताहरुले प्रतिपस्पर्धालाई द्वन्द्वमा परिणत हुन नदिनका लागि दुबै मुलुक जिम्मेवार बन्नुपर्ने विषयमा कुराकानी भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति बाइडेन कार्यभार सम्हालेपछि दुई नेताबीच भएको यो दोस्रो वार्ता हो। अमेरिका-चीनबीचको सम्बन्ध व्यापार, जासुसी र महामारीका विषयलाई लिएर तनावपूर्ण बनिरहेको समयमा दुई नेताबीच कुराकानी भएको हो।
दुई नेताबीच विभिन्न विषयमा बृहत र रणनीतिक छलफल भएको जनाइएको छ। 'राष्ट्रपति बाइडेनले अमेरिका र चीनबीच भइरहेको प्रतिस्पर्धालाई जिम्मेवारपूर्ण रुपमा व्यवस्थापन गर्नका लागि प्रयास गर्नुपर्ने बताउनुभएको छ,' ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले दुई नेताबीच एक्कासी भएको टेलिफोन वार्तामा गम्भीर र बृहत रणनीतिक र पारस्पारिक हितका विषयमा कुराकानी भएको जनाएको छ।
यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो ६ महिनामा दुई पटक कुराकानी गरेका थिए भने त्यसैगरि चिनियाँ समकक्षी सीलाई आफ्नो निजी क्लब मार-ए-लागोमा निमन्त्रणा दिएर प्रत्यक्ष कुराकानीसमेत गरेका थिए।
दुई शक्ति राष्ट्रहरुबीच पछिल्लो समय प्रजातन्त्र र मानवअधिकारका मुद्दामा तनाव सिर्जना भएको छ। - बीबीसी