कोरोना भाइरसको संक्रमण के कारणले फैलियो भन्ने विषयमा बेलायतमा अहिले अध्ययन भइरहेको छ। सो अध्ययनमा फुटबल खेल पनि कारकको रुपमा देखिएको बेलायती सञ्चारमाध्यमले बताएका छन्।
मार्च ११ मा सम्पन्न प्रिमियर क्लब लिभरपुल र ला लिगा क्लब एट्लेटिको म्याड्रिडबीचको खेल पनि अध्ययनको दायरामा परेको डेली मेलले उल्लेख गरेको छ। भाइरसको फैलावटमा यो खेल सहयोगी बनेको भन्दै खेलबारे अध्ययन गरिने भएको हो।
लिभरपुलको एनिफिल्डमा सम्पन्न खेलमा ५२ हजार समर्थकको उपस्थिति थियो। जसमा ३ हजार एट्लेटिकोका फ्यान स्पेनबाट बेलायत पुगेका बताइएको छ।
च्याम्पियन्स लिग अन्तगर्तको उक्त खेलपछि एनिफिल्ड क्षेत्रमा कोरोनाको संक्रमण धेरै देखिएको थियो। त्यसैले लिभरपुल सिटी काउन्सिलले खेललाई अध्ययनको केन्द्रमा राखेको हो।
खेलको १० दिनपछि भाइरसको संंक्रमणलाई रोक्न बेलायत सरकारले सम्पूर्ण खेलमा प्रतिबन्ध लगाएको थियो। खेलको समयमा स्पेनको राजधानीमा भने आंशिक लकडाउनको घोषणा गरिसकिएको थियो।
लिभरपुलमा अहिलेसम्ममा १,२५० मानिसमा संक्रमण देखिएको छ भने दुई सय ७० जनाको मृत्यु भइसकेको छ।