काठमाडौं- यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने भएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फर्स्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने जानकारी दिएकी हुन्।
उनले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालहरुमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताइन्। कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरुले पनि यसमा उत्साह नदेखाएको बताएका छन्।
कार्यक्रम संयोजक गुरुङले भने, ‘हामीले चाहेमा घातक रसायनिक विषदीरहित खेतीपातीबाट विषमुक्त र पोषणयुक्त खाना सबै र सधैँका लागि उपलब्ध गराउन सक्छौँ भन्ने कुरामा दृढ अठोट लिन र निरन्तर प्रयासरत रहन यो दिवसले हामी सबैमा उत्प्रेरणा जगाओस् भन्न चाहन्छौं, हाम्रा सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने बृहत र साहसी राजनीतिक प्रतिज्ञा यसरी बिर्से कि त्यो भन्नका लागि मात्रै भनिएको जस्तो भान भएको छ, प्रदेश र पालिकाहरुले पनि यस दिशामा धेरै उत्साह देखाएका छैनन् ।’
संयोजक गुरुङले १४ औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेदको अन्त्य गर्ने कुरामा केन्द्रित हुने बताइन्। उनले कोरोना महामारीको जोखिमसँगै खाद्य तथा कृषि प्रणालीको सुधारका प्रयत्नहरु भइरहेको बताइन्।
उनले भनिन्, ‘यस पृष्ठभूमिमा यस वर्ष हाम्रो पहल सुरक्षित भविष्यका लागि उत्पादन, पोषणा र पर्यावरण भन्ने नारासहित मनाउन लागिएको १४ औँ विश्व खाद्य दिवस हाम्रा लागि सान्दर्भिक र महत्वपूर्ण छ, यस प्रसंगमा हामी नेपाली सबै भोको नरहने र पर्याप्त खान पाउने आधारभूत खाद्य अधिकार समाजका संरचनात्मक विभेद, भूराजनीति, उपनिवेश र परनिर्भरताको साङ्लामा जकडिएको र उकुच जस्तै बल्झिएको पक्ष त छँदैछ, त्यसमाथि थपिएका पर्यावरण, मानव स्वास्थ्य, खाद्य शंकट, आम्दानी र जीवनयापनका आधारभूत समस्याहरुसँग जुधिरहेका छाँै, यसमाथि विगत दुई वर्षदेखि कोभिड १९ को महामारी र यसले निम्त्याएका विषम परिस्थितीको सामना गरिरहेका छौँ ।’
नेपाली किसानलाई केन्द्रमा राखेर मात्र नेपालले दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सक्ने भन्दै संयोजक गुरुङले सबै तहका सरकार, नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण किसान समुदायलाई खाद्यका लागि कृषि अभियानमा जुट्न आह्वान गरिन् । यस वर्ष 'हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण' भन्ने नारासहित ४१ औँ विश्व खाद्य दिवस मनाउन लागिएको छ । सन् १९७९ देखि सुरु भएको विश्व खाद्य दिवस नेपालले चार दशक यता मनाउँदै आएको छ ।