कोरोना भाइरसका कारण आउँदो समय क्रिकेटका धेरै नियममा परिवर्तन आउनसक्ने भएको छ। बल चम्काउन थुकको प्रयोग हुँदै आएकोमा यस नियममा परिवर्तन आउनसक्ने बताइएको छ। टेस्ट क्रिकेटमा प्रयोग हुने रातो बललाई थुकबाहेक अन्य बस्तुले चम्काउनु क्रिकेटमा बल टेम्परिङ मानिन्छ र यसो गरेमा खेलाडीलाई कारबाही हुन्छ।
क्रिकेट वेभसाइट ईएसपीएन क्रिकइन्फोका अनुसार नयाँ पदार्थ प्रयोग गरिएमा त्यसको गतिबिधि नियन्त्रण अम्पायरले गर्ने छन्।
कोरोना भाइरसको कारण थुक लगाएर बल चम्काउनेबारे आईसीसीका मेडिकल प्रमुख पिटर हरकोर्टले बैठकमा कुरा उठाएका थिए। हरकोर्टले भने, ‘हाम्रो आउँदो कदम भनेको अन्तर्राट्रिय क्रिकेट फेरि सुरु गर्नको लागि राम्रो रोडम्याप तयार गर्नु हो। यसमा सबै परिवर्तन सामेल गरिन्छ जुन क्रिकेटरलाई आवश्यक पर्छ।’
बल चम्काउने सम्बन्धमा अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलवुडले आउँदो दिनमा टेस्ट खेल्न मुस्किल हुने बताएका छन्। उनले भने, ‘सफा बलले खेल्नु त ठिकै हो। तर, टेस्ट क्रिकेटमा धेरै व्यवधान हुन सक्छन्। टेस्टमा ८० ओभरसम्म बल ठिक तरिकाले राख्न सकेनौं भने त्यसपछि ब्याट्समेनलाई धेरै सजिलो पर्न सक्छ। ब्याटिङ कम चुनौतीपूर्ण बन्न सक्छ।’
एक वर्ष अघि अष्ट्रेलियाका दुई क्रिकेटर स्टिभ स्मिथ र डेविड वार्नर बल टेम्परिङको आरोपमा कारबाहीमा परेका थिए। उनीहरुलाई एक वर्षको खेल प्रतिबन्धसमेत गरिएको थियो। उनीहरुले बलमा सेन्डपेपर प्रयोग गरेर बलको गुणस्तरमा परिवर्तन गरेका थिए।