घट्यो बजेटको आकार
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन्। अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त रकम बराबरको प्रतिस्थापन विधेयक संसदमा पेस गरेका हुन्।
प्रतिस्थापन विधेयकमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माको भनाइ छ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए। संघीय सरकारमार्फत चालुतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वित्रीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री शर्माले सुनाए।
कोभिडका कारण रोजगारी गुमाएकाले १० हजार सहायता
सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बीच आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्। अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ।
यस्तै सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ। प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ मा पनि क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो। पछि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरिदिएको थियो।
यस्तै अर्थमन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने घोषणा गरेका छन्। सो काम सामाजिक संस्थाको सहयोगमा गर्ने उनले बताए।
शिक्षकलाई छुट्टै अस्पताल
सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै शिक्षकले लामो समयदेखि माग गर्दै आएको शिक्षक अस्पताल खोल्ने विषयमा सरकारले अध्ययन अघि बढाउने बताएका हुन्।
अर्थमन्त्री शर्माले नमुना विद्यालय छनोट गरेर विद्यालयको स्तरोन्नति गर्ने, शिक्षक अस्पताल खोल्न अध्ययन गर्ने, प्राविधिक शिक्षालाई सबै स्थानीय तहको पहुचमा लाने जस्ता विषय अघि सारिएको बताए। निजामती, प्रहरी र सेनाको जस्तै अस्पताल स्थापना गर्न शिक्षकहरुले माग गर्दै आएका छन्।
बैठक र भ्रमण भत्तामा १० प्रतिशत कटौती
अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत, गोष्ठी, अनुगमन खर्च र भत्तामा १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने बताएका छन्। यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसैबाट कोभिड खोप किन्ने प्रबन्ध मिलाएको उनले जानकारी दिए। उनका अनुसार हालसम्म १ करोड ३३ लाख ६९ हजार खोप नेपाल भित्रिसकेको र ३ करोड खोप भित्रिने क्रममा रहेको छ।
यस्तै सरकारले १ हजार ४०० सडक आयोजना आयोजना खारेज गरेको छ।
प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १ हजार ४०० सडक आयोजना खारेज गरेका हुन्। प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको उनले बताएका छन्।
समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनावद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङ्कन तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने उनले बताएका छन्।
त्यस्तै, सुरुङ मार्ग, विद्युत प्रशारण लाईन, विमानस्थल तथा नयाँ प्रविधिमा आधारित अन्य यातायात पूर्वाधार, जलविद्युत आयोजना, ठूला अस्पताल, विश्वविद्यालयलगायत ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रले इन्जिनियरिङ्ग, खरिद, निर्माण, लगानी (इपिसिएफ) विधिबाट निर्माण गर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ। बजेटमा एक्सप्रेस रोड, सुरुङ मार्ग, द्रुत मार्ग, फ्लाइओभरजस्ता पूर्वाधार निर्माण तथा सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति लिएको उल्लेख छ।
एमसीसी विषसरह : नेमकिपा
नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन्।
नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौंताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे। नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौंताको सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए।
सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौंताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना समेत गरे। एमालेको विरोधका बीच उनी र सभामुख अग्नी सापकोटाबीच रोस्टममा जाने विषयमा सवाल जवाफसमेत चलेको थियो।
परराष्ट्रबारे साझा धारणा बनाउन अपिल
परराष्ट्रवीद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन। परराष्ट्रविद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गरे।
पूर्व राजदूत समेत रहेका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दवावलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे।
त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशीयाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले मुलुकको राष्ट्रिय सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए। उनले नेपालको राष्ट्रिय सुरक्षामा आँच आउने खालका गतिविधि यसअघि पनि हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी राष्ट्रिय सुरक्षा संयन्त्रहरुलाई परिचालन गर्नुपर्ने पनि बताए।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विज्ञहरुले भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौतिको विषय रहेको औंल्याएका थिए।
पालिका कांग्रेस अधिवेशन सर्यो
नेपाली कांग्रेसको पालिका तहको अधिवेशन सर्ने भएको छ।
क्रियाशील विवाद नसुल्झिँदा २१ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। सोही कारण भदौ २७ गते हुने भनिएको पालिका तहको अधिवेशन पर सार्ने तयारी कांग्रेसले गरेको छ। बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लामा वडा अधिवेशन सकिएपछि देशभर एकै मितिमा पालिका तहको अधिवेशन गर्ने प्रस्ताव राखेको थियो।
सोही प्रस्ताव अनुसार अधिवेशन सार्ने तयारी भएको एक नेताले जानकारी दिए। उनका अनुसार असोज ५ गतेसम्म सबै जिल्लामा वडा अधिवेशन सक्ने र ९ गते पालिका अधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ। कांग्रेसले भदौ ९ देखि १३ गतेसम्म गर्नेगरी १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको छ।
११४६ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन्।
बाइडेन-सी टेलिफोन वार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ।
बिहीबार टेलिफोन संवाद भएको हो। र यो पछिल्लो सात महिनायता दुई नेताबीचको पहिलो वार्ता पनि हो। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गरेर बाइडेन–सी संवादबारे जानकारी दिएको हो।
बाडेनले गएको जनवरीमा अमेरिकाको सत्ता सम्हालेयता सीसँगको यो दोस्रो टेलिफोन संवाद हो। पछिल्ला केही वर्षदेखि अमेरिका–चीन सम्बन्ध तनावपूर्ण छ। व्यापार, जासुसी र कोरोना भाइरस महामारीसहितका विषयलाई लिएर दुई देशबीच तनावको अवस्था छ।