काठमाडौं- तालिबानले अफगानिस्तान कब्जा गरेपछि विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धारका लागि पहल थाले। नेपाल सरकारले पनि अफगानिस्तानमा रहेका नेपालीको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्दै उद्धार कार्यका लागि समिति गठन गर्यो।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गृह, अर्थ, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीका सहसचिव तहको प्रतिनिधित्व रहने गरी समिति गठन गरेको हो।
समितिलाई दिइएको कार्यभारमा अफगानिस्तानमा रहेका नेपालीहरुको लगत संकलन गर्ने, तत्काल आउन चाहनेहरुको तथ्यांक संकलन गरी फारम भराउने र तत्काल उद्धार गरेरै ल्याउनुपर्ने भए ल्याउने काम गर्न निर्देशन दिएको थियो। समिति गठन भएलगत्तै समितिले अनलाइन पोर्टलमा फारम उपलब्ध गराउँदै भर्न आग्रह गरेको थियो।
सोही प्रक्रिया अनुसार विभिन्न माध्यमबाट हालसम्म ९०६ जना नेपाली नागरिकको उद्धार भएको छ। बिहीबार अफगानिस्तानबाट उद्धार भइ थप ११ जना नेपाली स्वदेश फर्किएका छन्। काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तर, कति नेपाली नागरिक अब अफगानिस्तानमा छन् भन्ने कुराको यकिन तथ्यांक सरकारसँग नभएको गृह मन्त्रालले स्वीकार गरेको छ। परराष्ट्र अध्ययन प्रतिष्ठानले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले अझै ३४ जना नेपाली काबुल विमानस्थलमा पुगेर फर्किएको बताएका छन्। उनले भने, "अफगानिस्तानमा तालिबानको शासन भएका कारण सिधै नेपाल वायुसेवा निगमको विमान पठाएर उद्धार गर्ने अवस्था छैन। हामीले विभिन्न मुलुकहरुसँगको समन्वयमा नेपालीहरुको उद्धार गरिरहेका छौं। अझै ३४ जना नेपालीहरु अफगानिस्तानमा उद्धारको पर्खाइमा छन्।"
उनका अनुसार अवैध माध्यमबाट अफगानिस्तान पुगेका नेपालीहरु कति छन् भन्ने कुरा यकिन भइसकेको छैन। श्रम आप्रवासन विज्ञ माधव पहारीले अफगानिस्तानमा कैयौं नेपालीहरु अवैध मार्गबाट प्रवेश गरेको हुनाले कति नेपालीहरु अझै त्यहाँ रहेका छन् भन्ने कुरा यकिन गर्न समस्या भएको बताए। उनका अनुसार तालिबान सत्ता कब्जा गर्नुअघि करिब एक हजार ५०० नेपालीहरु अफगानिस्तानमा रहेको एक तथ्यांकले देखाएको छ। तर, ओपचारिक तथ्यांक नभएको उनले बताएका छन्।
त्यसैगरी पूर्वसचिव पूर्णचन्द्र भट्टराईले अफगानिस्तानमा पछिल्लो पाँच वर्षमा ६ हजार ६६१ नेपालीहरु गएको तथ्यांक रहेको जानकारी दिएका छन्। उनका अनुसार सुरक्षा क्षेत्रमा करिब ६० जना महिलासमेत अफगानिस्तानमा गएका थिए। तर, तालिबान संकट सुरु हुँदा अथवा तालिबानले सत्ता कब्जा गरिसकेपछि कति नेपाली थिए भन्ने तथ्यांक नभेटिएको बताएका छन्।
अफगानिस्तानबाट नेपालीहरुको उद्धार सिधै विमान पठाएर गर्न नसकिने भएकोले विभिन्न मुलुकहरुसँगको सहकार्यमा, तालिबानसँग राम्रो सम्बन्ध भएका मुलुकहरुलाई आग्रह गरेर, रोजगारदाता कम्पनीहरुमार्फत र व्यक्तिगत र संस्थागत पहलमा गर्न सकिने उनले बताएका छन्। तर, कैयौं नेपालीहरु फर्किन नचाहेका कारण पनि सम्पर्कमा आउन नसकेको हुनसक्ने उनले बताए। उनले भने, 'लिबियाबाट उद्धार गर्ने क्रममा कतिपय नेपालीहरु आउन चाहेनन्। त्यसैगरी अफगानिस्तानमा पनि यही भएको हुनसक्ने भएकोले सम्पर्कमा आउन नचाहेको पनि हुनसक्छ। तर, कैयौं नेपालीहरु भने सूचीकरण नभएको र अवैध बाटोबाट गएकाहरुसँग प्रमाणको अभावमा पनि डरले सम्पर्कमा नआएको हुनसक्छ।
नेपालीको उद्धार समितिका संयोजक घिमिरेले श्रम स्वीकृति नलिइ अफगानिस्तान पुगेका नेपालीहरुको संख्या पनि रहेको उल्लेख गर्दै अफगानिस्तानमा हाल कति नेपालीहरु रहेका छन् भन्नेबारे यकिन जानकारी आउन नसकेको स्वीकार गरेका छन्।
सरकारले उद्धार हुन चाहनेको लगत संकलनका लागि अनलाइनबाट फारम भराउन थालेको छ। उद्धार भएर आएकाहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको सरकारले जनाएको छ।