मे १७ बाट अगस्ट ३१ सम्म फिफाले समर विन्डोको समयावधि तोकेको छ। यसबीच खेलाडी किन्ने र बेच्ने शृंखलाहरु धेरै हुन्छन्। क्लबले आफ्नो क्षमता अनुसार खेलाडी किन्ने र बेच्ने गरेका छन्। विश्वमा अधिकांस रुचाइएका खेलाडी युरोपको शीर्ष लिगमा छन्। उनीरुको किनबेचमा क्लबले ठूलै रकम खर्चने गरेका छन्। क्लबले खेलाडीको खेल हेरेर नै उनीहरुलाई अनुबन्धन गराउने गर्दछन्।
कतिपय क्लबले आर्थिक भार कम गर्न, बेन्च खेलाडी र मैदानमा उत्रने खेलाडीको सन्तुलन मिलाउन पनि खेलाडी बेच्ने गरेका छन्। कतिपय अवस्थामा भने खेलाडी आफैंले अर्को क्लब रोजेर जान्छन्। तर, यो वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण अधिकांश लिग र अन्य फुटबल खेल स्थगित भएका छन्। समर विन्डो आइसक्दा पनि रोकिएका खेल गतिविधी फर्कन सकेका छैनन्। यस्तो समयमा क्लब र खेलाडी अन्य क्लबमा जाने कि पुरानैमा बस्ने अन्यौलता छ। उनीहरुलाई फुटबलमा फर्कन पाए हुन्थ्यो भन्ने चिन्ता छ।
अचेल फुटबल मैदानभित्र मात्र सीमित छैन। यसमा विभिन्न पक्षहरु समवेश भएका छन्। खेलाडीको तलब, टिभी राइटको रकम, दर्शकले गर्ने पर्यटनको विकास सबैसँग जोडेर हेर्न थालिएको छ। त्यसैले फुटबलले अर्थतन्त्रमा पनि दह्रो प्रभाव जमाएको छ। युरोपका क्लबहरुले गत वर्षको समर विन्डोमा अहिलेसम्मकै धेरै ६ विलियन डलर खर्च गरेका थिए। डेलोटिट स्पोटर्स बिजनेस ग्रुपका अनुसार युरोपका शीर्ष पाँच लिग – प्रिमियर लिग, ला लिगा, बुन्डेसलिगा, लिग वान र सिरी ए ले उक्त रकम खर्च गरेका हुन्। २०१९ मा अघिल्लो सिजनभन्दा ०.९८ बिलियन धेरै खर्च गरिएको थियो। जुन रकम नेपालको पछिल्लो वार्षिक बजेटको करिब आधा हो। नेपाल जस्तो सानो फुटबल लिग हुने देशका क्लबले पनि फुटबलमा मोटो रकम खर्च गर्न थालेका छन्। यो सिजन मछिन्द्र क्लबले डेढ करोडभन्दा धेरै खर्च गरेको बताएको छ। भलै नेपालको फुटबल विश्वमा धेरै चर्चित छैन।
‘फुटबल इज बिजनेस’ भन्ने फिफा अध्यक्ष एन्फान्टिनोको भनाइलाई मान्ने हो भने पनि यो विन्डोमा उस्तै खर्च हुने थियो। तर, कोरोनाभाइरस बाधक बनिदियो। कोरोनाका काराण यो वर्ष सिजन सकिएपछि समाप्त हुने सम्झौता २ महिना लम्ब्याउन फिफाले खेलाडी र क्लबलाई सुझाव दिएको थियो। सिजन सकिएपछिको दुई महिना जोड्ने हो भने युरोपका कुनै लिग सकिने अवस्थामा देखिँदैन। त्यो सम्भव नभएपछि उसले सिजनको अन्त्यसम्मका लागि सम्झौता कायम गर्नुपर्ने बतायो। तर, समर ट्रान्सफर आउन एक महिना पनि बाँकी छैन। यस्तोमा खेलाडी एक क्लबबाट अर्को क्लबमा जाने हल्ला चुलिन थालिसकेको छ।
हेरौं बीबीसीले तयार पारेको खेलाडीको सम्भावित ट्रान्सफर सूची
– आरबी लेप्जिग र जर्मनीका फरवार्ड टिमो वार्नरले लिभरपुल जान चाहेको बताएका छन्। यदि प्रिमियर क्लबले ५२ पाउन्ड खर्च गर्न चाहेमा उनी इंग्ल्यान्डको क्लब जान पाउने छन्।
– चेल्सी र ब्राजिलका प्लेमेकर विलियम्स पनि लिभरपुलसँग जोडिन खोजेका छन्। ३१ वर्षे विलियम्सले आफ्नो सम्झौता सकिनेबित्तिकै त्यता जान चाहिरहेको बताएका हुन्।
– इंग्ल्यान्डका दुई क्लब म्यान्चेस्टर युनाइटेड र चेल्सीले लामो समयसम्म चासो देखाएका खेलाडी जाडन जान्जेलाई भने बुन्डेसलिगा क्लब आफैंले राख्ने बताएको छ। बोरुसिया डर्टमुन्डका २० वर्षे खेलाडी क्लबमा दोस्रो धेरै तलब पाउने खेलाडी हुन्।
– म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज डिफेन्डर डियागो डलोटलाई बेच्न चाहेको बताएको छ। उसले सान्जेलाई भित्र्याएपछि २१ वर्षे डलोट भने पीएजीलाई बेच्ने बताएको थियो।
– फिलिप काउटिन्हो अब प्रिमियर क्लब चेल्सी फर्कन चाहेका छन्। ला लिगा विजेता बार्सिलोनाबाट लोनमा बायर्न गएका २७ वर्षे ब्राजिलियन मिडफिल्डर स्पेनिस क्लबले अनुमति दिएमा उनी त्यता जाने छन्। उनले सन् २०१३ देखि २०१८ सम्म पाँच वर्ष प्रिमियर क्लब लिभरपुलमा बिताएका थिए। यता, लिभरपुलले भने आफूले काउटिन्हो नकिन्ने बताएको छ। त्यस्तै लिभरपुल र चेल्सीका पूर्वडिफेन्डर ग्लेन जोनसनले ब्लुजलाई काउटिन्हो किन्न भनेका थिए।
– म्यान्चेस्टर युनाइटेडले एस्टोन भिल्लाका प्लेमेकर २४ वर्षे ज्याक ग्रियालिसलाई अनुबन्धन गर्ने बताएको छ।
– इटालियन क्लब युभेन्टसले नेपोली र पोल्यान्डका स्ट्राइकर अर्काजिउज मिलिकलाई भित्र्याउन चासो देखाएको छ।
– प्रिमियर क्लब आर्सनलले ओर्कुन कोक्सुलाई इंग्ल्यान्ड ल्याउने तयारी गरेको छ। त्यस्तै क्लबले लोनमा इटालिको रोमामा रहेका हेनरिक मखितयार्नलाई त्यहीँ राख्ने विचार गरेको छ।
– ज्यामी कारघरले लिभरपुलका खेलाडी फर्नान्डो टोरेस बेच्न लागेको देखेर अचम्ममा परेको बताएका छन्। उनले टोरेसलाई ५० मिलियन पाउन्डमा चेल्सी पठाउने तयारी गरिएको बताएका थिए।
त्यस्तै, आर्थिक तनाव कम गर्न युभेन्टस फेडेरिको बर्नाडेस्चीलाई बेच्न खोजिरहेको छ।