नेपाली फिल्म क्षेत्रमा फरक पहिचान बनाएर सक्रिय निर्देशक हुन्, मनोज पण्डित। चाहे ‘दासढुंगा’ होस्, ‘बधशाला’, ‘छाया’ या ‘खाग’ उनले सधैं आफ्ना सिनेमामा राजनीति र सुरक्षालाई केन्द्रमा राखे। सिनेमामार्फत विचारको पैरवी गर्न रुचाउने मनोज नेपाली फिल्मवृत्तमा राजनीतिक विषयमा फिल्म बनाउने फिल्ममेकरका रुपमा पनि परिचित छन्। सधैं सिनेमा हलमा फिल्म रिलिज गरिरहेका उनी यसपटक डिजिटल प्लेटफार्मबाट नयाँ फिल्म लिएर आउँदैछ। असोज २१ गतेबाट रिलिज हुने तयारीमा रहेको उनको नयाँ फिल्म हो, ‘एक’। राजनीतिक मुद्दा र देशको सुरक्षासँग जोडेर तयार पारिएको भनिएको यो फिल्मले खास दिन खोजेको सन्देश के हो? प्रस्तुत छ, फिल्म रिलिजको पूर्वसन्ध्यामा मनोजसँग नेपालसमयले गरेको फिल्म संवाद :
सिनेमाको नाम ‘एक’ नै किन?
‘एक’लाई टुक्राउन खोजिँदैछ, एक संकटमा छ, त्यसैले।
यसको अर्थचाहिँ?
देश, हाम्रो सन्दर्भमा नेपाल।
यसको मतलब, नेपाल टुक्र्याउन खोजिँदैछ?
यस्तै राजनीतिक मार्गमा यो राष्ट्र हिँडिरह्यो भने मधेस टुक्रन सक्छ, मधेस मात्र होइन काठमाडौंबाट सुदूरपश्चिम र कर्णाली पनि छुट्टिन सक्छ।
कसले टुक्र्याउन खोज्दैछ?
काठमाडौंले। किनभने यसले जनतामा थुपारिदिएको निराशालाई विदेशी स्वार्थका कठपुतलीहरुले सदुपयोग गर्न खोज्दैछन्।
विदेशी स्वार्थ भन्नाले?
नेपाल भूराजनीतिक महत्त्व र साधनस्रोतमाथि स्वामित्व हासिल गर्न चाहने शक्तिहरुको प्लेग्राउन्ड बनेको छ। मलाई विश्वास छ, ‘एक’ले त्यो प्लेग्राउन्ड कथ्यलाई स्थापित गराएर त्यसविरुद्ध जनमत तयार गर्न भूमिका खेल्न सक्छ।
सिनेमाको ट्रेलर हेर्दा स्वतन्त्र मधेसको अवधारणालाई पनि स्थान दिइएको पाइन्छ नि?
अवधारणा नै त खतरा हो । यो अवधारणाबाट सबै सचेत हुन् भनेर स्थान दिइएको हो। मलाई लाग्छ, हामी कहिल्यै पनि अवधारणासँग भाग्नुहुँदैन, यसलाई साक्षात्कार र सामना गर्न सक्नुपर्छ।
मधेस के हो तपाईंका लागि ?
तराईबाट रुपान्तरित भएको विद्रोही शब्द हो जसभित्र म सधैं विभेद, षड्यन्त्र र सम्भावनाको मिश्रण देख्दछु।
मधेसमाथि नै सिनेमा बनाउनुको खास कारण?
किनभने म यो सिनेमामार्फत सिंहदरबार र बालुवाटार केन्द्रित सत्तालाई चेतावनी दिन चाहन्छु।
कस्तो चेतावनी?
त्यो भूगोलले नेपाल सत्तालाई दुश्मन देख्न थाल्यो भने यो देशको दुर्गति हुन्छ भनेर।
दर्शकलाई तर्साउन खोजेको हो?
होइन, शासकहरु सत्ताको मदिरापान गरेर मस्त नशामा छन्, उनीहरुलाई होसमा ल्याउन आवश्यक देखेर हो।
तपाईं सधैं आफ्ना सिनेमा शासकहरुप्रति नै किन तेर्साउनुहुन्छ?
हाम्रो राजनीतिक प्रणालीको ध्रुवसत्य यही हो कि शासकको निर्णयबाट म आफ्नो जीवनको मार्ग निर्धारण गर्न बाध्य छु, वास्तवमा म शासकको दास छु। त्यसैले मेरो मुक्तिका लागि त्यसो गर्नु मेरो आधारभूत आवश्यकता हो।
तपाईं कस्तो शासक चाहनुहुन्छ?
वास्तवमा म शासक र शासित संरचना नै चाहन्न।
कस्तो अराजनीतिक चिन्तन हो यो?
म सत्ता समाप्तिको राजनीतिक चिन्तनमा छु तर हाम्रो राजनीति सत्ता निर्माणमा केन्द्रित छ।
त्यसरी त कसरी देश चल्छ र?
हालसम्म देशको मालिक शासक हुन् र जनता दास हुन् भन्ने अवधारणामा देश चलेको छ। म मालिकरुपी शासकबाट मुक्त मानिसले देश व्यवस्थापन गर्न सक्छ भन्ने मान्यता राख्दछु।
तर, ‘एक ’ले त सत्ता–शासकलाई नै बलियो बनाउने कुरा गर्छ, होइन त?
‘एक’ले देशलाई अस्थिरता र अराजकताबाट जोगाउने कुरा गर्छ। यसले शासकलाइ होइन, जनतालाई बलियो बनाउछ किनकि अस्थिरता र अराजकतामा शासक बलियो हुन्छ र जनता कमजोर।
राष्ट्रियता के हो?
राष्ट्रको स्वार्थ र हित, मूलतः शासकहरुको प्रिय शब्द हो यो।
अनि, देशभक्तिचाहिँ?
मानिसमा आफ्नो राजनीतिक भूगोलप्रतिको चेत, जनताको प्रिय शब्द।
सिनेमाभित्र ‘सीएसआई’ नामक गुप्तचर संस्थाको परिकल्पना देखिन्छ, यो कसरी ?
मेरो देशभक्ति भावको उपजमा नेपालको राष्ट्रियता बलियो बनाउन भएको परिकल्पना हो यो।
किन आवश्यक पर्यो?
देशविरुद्ध आँखा गाढेर बसेका साम्राज्यवादी चरित्रको खलनायकत्वलाई चुनौती दिन नायकत्व चरित्र स्थापित गर्न यो ‘सीएसीआई’को समग्रमा कथ्यगत हिसाबले आवश्यक बन्यो।
तपाईं प्रायः राजनीतिक विषयमा मात्रै चलचित्र बनाउनुहुन्छ, चाहे त्यो ‘दासढुंगा’ होस्, ‘बधशाला’ या अहिले आएर ‘एक’। यसपछाडि कुनै खास कारण?
हामीकहाँ राजनीति सबैभन्दा खतरनाक खलनायकका रुपमा स्थापित भइरहेको छ, सायद त्यही कारण हुनसक्छ, म यसमा आकर्षित भइरहेको छु। किनकि कथा नायकले भन्दा पनि खलनायकले नै निर्धारण गर्छ।
कतै चर्चा पाइने भोकले त होइन?
राजनीतिक विषयमा चलचित्र बनाउनु एक किसिमको विद्रोह हो, जो अत्यन्त चुनौतीपूर्ण हुन्छ। तर, यसको उपादयता उच्च हुने हुँदा चर्चा भएको हो।
अनि अर्को कुरा, तपाईंको प्रायः चलचित्र सुरक्षाको अवधारणामा बनेको देखिन्छ, यस्तोचाहिँ किन?
म आफूलाई यो राष्ट्र, समाज र राजनीतिभित्र अत्यन्त असुरक्षित महसुस गर्छु त्यसैले म सुरक्षाको खोजीमा छु। सायद त्यसकै प्रतिबिम्ब मेरा सिनेमामा झल्किरहेका छन्।
तपाईंको यो पछिल्लो सिनेमाको दर्शक को त?
खासमा ‘एक’ विदेशी हस्तक्षेपविरुद्ध आक्रोशित नेपाली नागरिकको सिनेम्याटिक भोट हो। त्यसकारण मलाई लाग्छ, यो केवल सिनेमामात्रै हुने छैन, जनप्रतिनिधित्व पनि हुनेछ।
प्रायः सिनेमा रिलिजका क्रममा तपाईंले सेन्सर झमेला खेप्दै आइरहनुभएको छ। झन् यो सिनेमामा त मधेस टुक्रिँदैछ भन्ने देखाउन खोज्नुभएको रहेछ। सत्ताले सहजै रिलिज गर्न देला त?
अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हिजो पनि लडेकै हो, आज पनि लड्ने नै हो। जस्तोसुकै चुनौती सामना गर्न तयार छु, तर यो सिनेमा रिलिज गरेरै छाड्छु। अहिलेलाई यति भनें।