इंग्ल्यान्डका लेग स्पिनर आदिल रसिदले रातो बल (टेस्ट) क्रिकेटमा फर्कनसक्ने बताएका छन्। उनले यो समरमै टेस्ट क्रिकेटमा फर्कनसक्ने बताएका हुन्।
इंग्ल्यान्डले विश्वकप जितेको समयमा ३२ वर्षीय रसिद सोही टिमका खेलाडी थिए। तर, त्यसपछि उनले क्रिकेट खेलेका छैनन्।
उनले पछिल्लो टेस्ट प्रतियोगिता २०१९ जनवरीमा खेलेका थिए। गर्धनको चोटले थलिएका रसिदले यो सिजनमा लिमिटेड ओभरको क्रिकेट भने खेलेका छन्।
“सेप्टेम्बरसम्ममा मेरो गर्धन सय प्रतिशत ठिक भयो भने टेस्टमा कमब्याक गर्न सक्छु,” उनले भने।
रसिदले सन् २०१८ को सुरुमा सेतो बल (एकदिवसीय र टी–२०) क्रिकेटमा केन्द्रित भएका थिए।
उनले इंग्ल्यान्डका तर्फबाट लगातार ९ टेस्ट खेलेका छन्। त्यसमा गत वर्षको वेस्ट इन्डिजविरुद्धको खेल पनि समावेश छ।
उनले सन् २०१७ यता भने योर्कसिरी कन्ट्री च्याम्पियनसिपमा खेलेका छैनन्।
उनले विश्वकपको समयमा गर्धनमा इन्जेक्सन लगाएर खेलेका थिए। उनले त्यसपछिका कुनै घरेलु सिरिज खेल्न पाएका छैनन्।
उनी राष्ट्रिय टोलीमा परे भने भारतविरुद्धको आउँदो टेस्ट शृंखलाको स्पिन बलिङमा इंग्ल्यान्ड बलियो हुनेछ। त्यस्तै, श्रीलंकाविरुद्धको सिरिजमा पनि उनी सहयोगी बन्न सक्छन्।
उनले आफू सन् २०२१ को अन्तिममा हुने अस्ट्रेलियाविरुद्धको आसेस सिरिजमा सहभागी हुन सक्ने पनि बताएका छन्।
“यो वर्षको अन्त्यमा मैले सेतो बल कि रातो बल खेल्ने बारेमा सोच्नेछु,” उनले भने, ‘मैले टेस्ट क्रिकेट खेल्ने निर्णय लिन सकिनँ भने एकदिवसीय वा टी–२० नै खेले भने आसेस सिरिज मेरो लागि बेकामे हुन पनि सक्छ।”
“तर, मैले रातो बल खेल्ने निर्णय गर्न सकेको खण्डमा यो टिम र मेरो लागि राम्रो हुनेछ,” उनले थपे।
लिमिटेड ओभरको क्रिकेटमा स्पिनर मोइन अली र रसिदको पार्टनरसिप सफल मानिन्छ। यता अफ स्पिनर मोइनले आफू पहिलो आसेस क्रिकेटबाट निकालिएपछि यसको अन्य सिरिजमा नखेल्ने बताएका थिए।
तर, ३२ वर्षीय मोइनले गार्डियनसँग केही समयअघिको अन्तर्वार्तामा आफू सबैभन्दा लामो फर्मको (टेस्ट) क्रिकेट का लागि तयार भएको बताएका थिए। “भोलि टेस्ट प्रतियोगिता छ र आजमात्र फोन आयो भने पनि म खेल्न सक्नेछु,” मोइनले भनेका छन्।
मोइनले ६० टेस्ट प्रतियोगितामा एक सय ८१ विकेट लिइसकेका छन्।
मोइनले आसेस सिरिज खेल्न नाइनास्ति गर्न नसक्ने रसिदको विश्वास छ। उनलाई इंग्ल्यान्डले अवसर दिनुपर्नेसमेत रसिदले बताएका छन्।
“उनी विश्वका राम्रा खेलाडी हुन्,’ रसिदले भने, ‘उनले चार÷पाँच वर्षबाट आफूलाई प्रमाणित गरिरहेका छन्। र, खेल जिताउने मुख्य खेलाडी बन्दै आएका छन्।”
बीबीसी