धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पार्टीको वडा अधिवेशनमा विवाद भएपछि प्रहरी परिचालन गरिएको छ। जिल्ला कार्य समितिले वडा अधिवेशन बहिष्कार गरेपछि प्रहरी परिचालन गरिएको हो। केही ठाउँमा भने विवादका कारण अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन।
क्रियाशील सदस्यतामा रहेको विवाद समाधान नभई अधिवेशन सुरु गरिएका कारण कार्यकर्ता आक्रोशित बनेको डडेलधुराका सभापति कर्ण मल्लले जानकारी दिए। विवादका कारण सभापति मल्लले अधिवेशन नै बहिष्कार गरेका छन्।उनले भने, ‘जिल्ला कार्यसमितिले निर्वाचन बहिष्कार गरेको छ। वडा अधिवेशनमा हाम्रो पूर्ण असहमति छ।’
सभापति मल्लले पार्टी सभापति देउवाले सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै प्रहरी परिचालन गरेर वडा तहको अधिवेशन गराइरहेको आरोप लगाए।
जिल्ला कार्यसमितिले बहिष्कारको निर्णय गरे पनि सात स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ। अन्य वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए।
‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ। पार्टीका निर्वाचन गर्दा सार्वजनिक रूपमा वडाले सूचना जारी गर्नुपर्छ। सबै क्रियाशील सदस्यहरूलाई मतदानमा सहभागी हुन सूचित गर्नुपर्छ। यहाँ त प्रहरी लगाएर वडा तहको अधिवेशन थालिएको छ। यस्तो ज्यादती कुनै हालतमा स्वीकार्य छैन।’
सभापति मल्लले निर्वाचन सामग्री पनि सुरक्षाकर्मीबाटै आएको र मतदानमा पनि उनीहरूलाई परिचालन गरिएको बताए।मल्लले भने, ‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ। पार्टीका निर्वाचन गर्दा सार्वजनिक रूपमा वडाले सूचना जारी गर्नुपर्छ। सबै क्रियाशील सदस्यहरूलाई मतदानमा सहभागी हुन सूचित गर्नुपर्छ। यहाँ त प्रहरी लगाएर वडा तहको अधिवेशन थालिएको छ। यस्तो ज्यादती कुनै हालतमा स्वीकार्य छैन।’
मल्लले सहमति विनाको अधिवेशनमा आफूहरूको सहभागिता नरहने बताए। सभापति देउवा पक्षधरले एकलौटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ।
जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेको मल्लको भनाइ छ। पुराना सदस्यको नाम काटेर सूचीमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको उनले बताए। सदस्यता विवादलाई लिएर जिल्ला सभापति मल्ल पक्षीय कार्यकर्ताहरू आक्रोशित बनेका छन्। यही विषयमा कारण मंगलबार पार्टी कार्यालयमा झडपसमेत भएको थियो।
अमरगढी नगरपालिका- ५ मा यति बेला विवाद भइरहेको पत्रकार टेकराज अवस्थीले बताए। उनले भने, 'वडामा मतदाता नामावली सार्वजनिक भएको छ। तर कार्यकर्ताहरुले मतदानकाे विरुद्धमा चर्को नाराबाजी गरिरहेका छन्।' जिल्लाका केही स्थानीय तहमा विवाद भएको सुन्नमा आएको उनले बताए।
पर्शुराम नगरपालिकाका मेयर एवम् कांग्रेसका जिल्ला सभापतिका आकांक्षी भीमबहादुर साउदले भने जिल्लामा कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले केही वडामा विवाद भए पनि जिल्लामा सौहार्द रुपमा अधिवेशन भइरहेको बताए।
उनले भने, ‘म सबै मतदाताहरूलाई अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु। कस्ता व्यक्तिलाई विजयी बनाउने भन्ने उहाँहरुकै हातमा छ। म निष्पक्ष भएर राम्रा व्यक्तिलाई पठाउन आग्रह गर्दछु।’ सभापति देउवा निकट मानिने साउदले विवाद भनेर फैलाइएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।