काठमाडौं– रौतहट बम विस्फोट घटनाका मुख्य अभियुक्त मोहम्मद अफताब आलमको मुद्दा शुक्रबार पेसीमा चढे पनि सुनुवाइ भने भएन।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर, उक्त मुद्दाको सुनुवाइ नभई हेर्न नमिल्नेमा राखिएको छ।
रौतहट बम विस्फोट घटनाको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री आलमले थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए। सोही रिटको पेशी आजका लागि तोकिएको थियो। उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए।
बम विस्फोटसम्बन्धी मुद्दा भने जिल्ला अदालत रौतहटमा छ। अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन्।