काठमाडौं– भारतको महाराष्ट्रमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। महाराष्ट्रको पुणेमा दुई दिनसम्म १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो।
सामूहिक बलात्कार आरोपमा पुणे पुलिसले १६ जनालाई गिरफ्तार गरेको छ। सुरुमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा थप पाँच जना, त्यसपछि एउटा लजमा काम गर्ने दुई जना र एक जना किशोरीका साथीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ३१ अगस्टमा ती किशोरी आफ्नो साथीलाई भेट्न पुणे रेलवे स्टेसन पुगेकी थिइन्। त्यहाँ उनका साथी आएनन्।
त्यसपछि एक अटोरिक्सा चालकले उनलाई घर पुर्याइदिने आश्वासन दिएको प्रहरीले जनाएको छ। ती अटोरिक्सा चालकले अन्यत्रै लगेर आफ्ना साथीहरूलाई बोलाएर दुई दिनसम्म फरक–फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यसपछि उनीहरूले ती किशोरीलाई मुम्बईको एक बसमा चढाइदिएका थिए। मुम्बई प्रहरीका डेपुटी कमिशनर नर्मदा पाटिलका अनुसार वनवाडी पुलिस स्टेशनमा किशोरीका बुबाले रिपोर्ट दर्ता गरेपछि घटना बाहिर आएको हो। किशोरीको बयानका आधारमा अभियुक्तहरु पक्राउ परेका हुन्।
अहिले किशोरीको उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। आफूले कुनै पनि अभियुक्तलाई पहिले नचिनेको बयान उनले प्रहरीसँथ दिएकी छन्। बलात्कारमा संलग्न अधिकांश अटो चालक र दुई जना रेल्वेका कर्मचारी रहेको प्रहरीले जनाएको छ।