काठमाडौं– अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका दुई जना पत्रकारमाथि तालिबानले कुटपिट गरेको छ। उनीहरूमाथि गिरफ्तार गरेर मरणासन्न हुनेगरी कुटपिट भएको बीबीसीले जनाएको छ।
एटिलाट्रोज पत्रिकाका दुई पत्रकारका केही तस्बिर बाहिरिएका छन्, जसमा उनीहरूको शरीरमा गम्भीर चोट लागेको देख्न सकिन्छ।
गिरफ्तार भएका एक पत्रकार ताकी दरयाबीले आफूहरूलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा लगेर कुटपिट गरेको बीबीसीलाई बताएका छन्। बुधबार बीबीसीको टीमलाई पनि भिडियो बनाउनबाट रोकिएको थियो।
ताकी दरयाबीको साथमा फोटोग्राफर नेमतुल्लाह नकदी पनि थिए। दुवै पत्रकार राजधानी काबुलमा महिलाले गरिरहेको विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका थिए।
उनीहरूले प्रहरी हिरासतमा आफूहरूलाई लौरो, कोर्रा र बिजुलीको तारले हानिएको बताएका छन्।
‘उनीहरूले मेरा हात पछाडि लगेर बाँधे। मैले आफूलाई बचाउने कोसिस गरिनँ, किनकी मैले त्यसो गरेको भए उनीहरू मलाई झनै पिट्थे। म घोप्टो परेँ, ताकि शरीरको अगाडिको भागलाई बचाउन सकुँ,’ ताकीले बीबीसीलाई भनेका छन्।
आठ जनाले आफूमाथि मारपिट गरेको उनले बताएका छन्। ‘उनीहरूले आफ्नो हातमा जे छ, त्यहीले हिर्काए। मेरो अनुहारमा जुत्तै जुत्ताले हाने। म बेहोस भएर ढलेँ। त्यसपछि मलाई अन्यत्रै लगेर छोडिदिए,’ ती पत्रकारले भने। उनले आफू बेहोस भएको दुई घण्टापछि रिहा गरिएको बताएका छन्।
अर्का पत्रकार नेमतुल्लाह नकदीले आफूले प्रदर्शनकारीको तस्बिर खिच्न सुरु गर्नासाथ तालिबानले क्यामेरा खोसेको बताएका छन्। ‘एक तालिबानले मेरो टाउकोमा लात्ता हाने र मेरो अनुहारमा कुल्चिन थाले। उनले मेरो टाउकोमा बुट बजार्न थाले। मलाई अब मार्छन् लागेको थियो,’ उनले समाचार एजेन्सी एएफपीलाई भनेका छन्। आफूलाई किन पिटिएको भनेर सोध्दा तालिबान अधिकारीले शीर नकाटिएकोमा खुशी मनाउन भनेको नकदीले सुनाए।
अन्तराष्ट्रिय गैरसरकारी संस्था सीपीजेका अनुसार पछिल्ला दिनमा तालिबानले १४ जना पत्रकारलाई हिरासतमा लिएर छोडेको छ।