काठमाडौं– कोभिडविरुद्धको १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने ४ वटा फ्रिज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तरगर्त उपलव्ध उक्त फ्रिज युनिसेफमार्फत आएको हो।
उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार उक्त फ्रिजमा कूल १ लाख २० हजार डोज खोप भण्डारण गर्न सकिनेछ।
नेपालमा ६० लाख डोज फाइजर खोप खरिद गर्ने सम्झौता भइसकेको छ। फाइजर खोपलाई माइनस ७० डिग्रीभन्दा माथिको चिस्यानमा भण्डारण गर्न सकिने जनाइएको छ।
सरकारले ६० लाख डोज खोप आगामी जनवरीसम्ममा ल्याउने जनाएको छ। जसमा डिसेम्बरसम्ममा ५० लाख डोज ल्याइने भनिएको छ। विभागले कम्तीमा १० लाख डोज फाइजर खोप भण्डारण गर्न मिल्ने भण्डारण कक्ष विस्तार गर्न थालिएको जनाएको छ।
हालसम्म नेपालमा २ देखि ८ डिग्री सेल्सियसमा मात्रै भण्डारण गर्न मिल्ने कोरोनाविरुद्धका खोपहरू प्रयोगमा आएका छन्।