नेपाली महिलाहरुको ठूलो महिला हरितालिका तीजमा खुट्टा हाल्ने ठाउँ समेत पाउन मुस्किल पर्थ्यो पशुपतिनाथ मन्दिरमा। घण्टौं लाइन लाग्दा समेत दर्शन गर्न गाह्रो हुन्थ्यो। तर, यसपटक फरक दृष्य देखियो।
भक्तजनको उपस्थिति पातलो थियो। कोरोना कहरका कारण मुख्य मन्दिर नै बन्द हुँदा धेरैजसो भक्तजन पाशुपत क्षेत्रमा समेत पुगेनन्। पुगेकाहरुले पनि पहिलेजस्तो लामो पूजापाठ गरेनन्। बाहिरैबाट दर्शन गरेर फर्किहाले।
पाशुपत क्षेत्रमा आइपुगेका भक्तजनले कोरोना कारण चाडपर्व मनाउने शैली नै परिवर्तन हुँदै गएको बताए। कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष तीजमा कुनै भीडभाड थिएन। यो वर्ष भने सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन। तर, पनि पाशुपत क्षेत्रमा भक्तजनको खासै उपस्थिति देखिएन।