काठमाडौं- अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्ने २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक शुशिलसिंह राठौरका अनुसार हालसम्म काठमाडौंका विभिन्न क्षेत्रबाट २२ जनालाई पक्राउ गरिएको छ।
उनीहरुलाई हाल महानगरीय प्रहरी कार्यालयमा राखिएको जनाइएको छ। एमसीसीका उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल भ्रमणका क्रममा सुरक्षा व्यवस्थामा अवरोध पुर्याएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।
चार दिने भ्रमणका लागि एमसीसी उपाध्यक्ष फातिमा र सहायक उपाध्यक्ष जोनाथन ब्रुस बिहीबार बिहान काठमाडौं ओर्लिएका हुन्। उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरिसकेकी छन्।