काठमाडौं- संखुवासभाको मादी नगरपालिका -१ खोलागाउँमा आइतबार राति भएको घटनाका मृतक ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको इटहरीस्थित बूढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको हो।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकिएपछि बुधबार साँझ शव इटहरी लगेर दाहसंस्कार गरिएको हो। अन्त्येष्टिका क्रममा सयौंको संख्यामा स्थानीय भेला भएका थिए।
अन्त्येष्टिका लागि तेजबहादुर कार्कीका कान्छा छोरा रमेश कार्की दुबईबाट बुधबार बिहान धरान आइपुगेका हुन्।
परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो।
घरमै भएका ९० वर्षीय तेजबहादुर भने जोगिएका छन्। परिवारका ६ जना गुमाएका वृद्ध कार्की अहिले हत्या भएकै घरमा बसिरहेका छन्। उनी कान सुन्दैनन्। आँखा पनि राम्रोसँग देख्दैनन्। उनले घर छोड्न नमानेको स्थानीयले बताएका छन्।
छ जनाको हत्या भएको तीन दिन बित्दासमेत दोषी पहिचान हुन नसक्दा संखुवासभाको मादी नगरपालिका–१ का बासिन्दा त्रसित छन्। मादी नगरपालिकाका मेयर विदुरकुमार लिन्थेप सुरक्षा व्यवस्था चुस्त बनाइ घटनाको अनुसन्धान भइरहेको बताएका छन्। उनले घटना रहस्यमय बन्दै गएकाले अनुसन्धान प्रक्रिया जटिल हुनेसक्ने आशंका व्यक्त गरे। उनका अनुसार घटनाको प्रकृति हेर्दा धारिलो हतियारभन्दा पनि लाठी र रड प्रयोग भएको हुन सक्ने देखिएको छ।
'जिउमा कम चोटपटक छ। सबैको टाउकोमा नै बढी चोट देखिन्छ’, उनले भने। परिवारका सदस्यलाई घरबाहिर निकालेर लखेटी लखेटी हत्या गरिएको जस्तो देखिने उनले बताए। उनले भने, ‘घटनास्थलमा भागदौड मच्चिएको जस्तो देखिन्थ्यो। सबैको टाउको चोट रहेकाले रड प्रहार र लाठी प्रहार गरेजस्तो देखिन्छ। सबै शव घोप्टो पारिएको अवस्थामा थियो।’