बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसी पास नहुने प्रचण्डको उद्घोष, ६ व्यक्ति हत्याको कारण पैसा [२०७८-५-२२]

एमसीसी पास नहुने प्रचण्डको उद्घोष, ६ व्यक्ति हत्याको कारण पैसा [२०७८-५-२२]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पास नहुने बताएका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पास नहुने बताएका छन्।

मंगलबार पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पास नहुने बताएका हुन्। अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नआएकाले एमसीसी पास हुने सम्भावना नरहेको उनको भनाइ छ । उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्र सहमत नहुने पनि बताए । 

एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेपाल आउने भ्रमण तालिका रहेको पूर्वसन्ध्यामा प्रचण्डले यस्तो कुरा बताएका हुन्। यसअघि सरकारले एमसीसीका विषयमा उठेका केही प्रश्नहरुबारे सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाएको थियो। 

एमालेमा बस्न मन्त्रीबाट राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्। 

मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले राजीनामा दिएका हुन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका शाह र राज्यमन्त्री गहतराजले आज राजीनामा दिएका हुन्। विगतमा शाह र गहतराज दुवै माधवकुमार नेपालको समूहमा थिए। 

तर, दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्। सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।

हत्यारा खोज्दै प्रहरी

संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ। 

मादी नगरपालिका–१ उम्लिङबाट मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि संघीय एकाइ प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको थियो। तालिमप्राप्त कुकुरसहितको टोली सोमबार साँझ पुगेको थियो। 

मादी–१ का कार्की परीवारको हत्या पैसाका कारण भएको हुन सक्ने देखिएको वडाध्यक्ष खेमनाथ कटुवालले बताएका छन्। प्रहरीको अनुसन्धान जारी रहे पनि परिवारका सदस्य र छिमेकीसँगको कुरा बुझ्दा झापामा घडेरी खरिदका लागि जम्मा गरेको पैसा लुट्नकै लागि हत्या भएको देखिन आएको उनले बताए। 

मादी– का ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या गरिएको अवस्थामा सोमबार बिहान स्थानीयले शव फेला पारेका थिए। सात जनाको परिवारमा बस्दै आएकामा ९३ वर्षीय बाबु बौद्धमान कार्की मात्र सकुशल छन्।

उद्योगीले डेडिकेटेड र ट्रंकको पैसा नतिर्ने 

नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल धागो उत्पादक संघले २४ सै घण्टा विद्युतको प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको हो । विद्युत महशुल आयोगले बोर्डको १०३ औँ बैठकबाट २४ सै घण्टा विद्युत आपूर्ति गरे ६० प्रतिशत महशुल लिन पाउने अन्यथा नपाउने भनिएपनि त्यसबिपरित् उद्योगीहरुलाई बिल पठाएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए । अध्यक्ष गोल्यानले नेपाल विद्युत प्राधीकरणले भने बमोजिम आफूलाई पावर सप्लाइ पनि नभएको र कुनै पनि उद्योगले एउटाले २४ घण्टा विद्युत नपाएको बताउँदै प्राधिकरणले उद्योगीहरुको मानमर्दन गरेको आरोप समेत लगाए ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले विवादमा आएका हरेक उद्योगहरुले प्रयोग गरिसकेपछि एक रुपैयाँ पनि वक्यौता नराखेको बताए । उनले त्यसमध्ये ९८ प्रतिशत उद्योगले त्यसबाट पाउने रिपेट समयमै लिइरहेको समेत उल्लेख गरे । अध्यक्ष थापाले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगीहरुले समयमा नै पैसा तिरेको दबी गरे । 

२०७२ असार १२ गतेबाट प्राधिकरणको सञ्चालकले डेडिकेटेड र ट्रंक लाइन बाँडेको थियो । २०७५ वैशाख ३१ बाट देशमा लोडसेडिङ हटेपछि गत असार १ मा विद्युत नियमन आयोगले डेडिकेटेड लाइनको व्यवस्था खारेज नगर्दासम्मको अवधिको विवाद समाधान गर्ने जिम्मेवारी पाएको थियो । तर अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । 

नेपाल विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिवसीय क्रिकेट अन्तर्गत ओमनमा भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको छ।

टस हारेर बलिङ गर्दै १३५ रन लक्ष्य पाएको नेपालले ३९ ओभर तीन बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपाली राष्ट्रिय टिमका भरपर्दा ब्याटसम्यान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपछि नेपालको यो पहिलो खेल हो।

नेपालको जितका लागि ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखले ४६ रनको साझेदारी गरे। कुशल १५ रन बनाउँदै बाहिरिए भने आसिफले ३० रन जोडे। १२ औं ओभरमा सोमपालको बलबाट भुर्तेल आउट भएका थिए। रोहित पौडेलले ४१ रन बनाए। त्यस्तै, सोमपाल कामीले ३२ बलमा २२ रन जोडे। 

असोज पहिलो साताबाट पोखरामा हुने  ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयबाट जारी गरिएको तालिका अनुसार पहिलो खेल द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंबीच हुने भएको हो । 

यस्तै सोही दिनको दोस्रो खेल स्पोर्टस क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच हुनेछ । असोज २ गतेदेखि २२ गतेसम्म पोखरास्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन । जसमा बागमती प्रदेशबाट ४ सहित अन्य प्रदेशबाट ६ टोलीको सहभागिता हुनेछ । खेल २०–२० मिनेटको हुनेछ ।  २१ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

प्रकाशित: Sep 07, 2021| 20:24 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।