विराटनगर- प्रहरी हवल्दारले चलाएको मोरङ अदालतका न्यायाधीशको गाडीले ठक्कर दिँदा विराटनगरमा मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ।
जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीको बा१४च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो। निजी नम्बर प्लेटको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा साँझ ५:१५ बजेतिर कोसी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भएकी दाहाल परिवारसहित मोरङ अदालत परिषरमै क्यान्टिन सञ्चालन गर्थिन्। पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अनियन्त्रित भएको कार घेरबार तोडेरै क्यान्टिनभित्र छिरेको थियो। अनियन्त्रित बनेर भित्र छिरेको कारले क्यान्टिनमा काम गरिरहेकी दाहाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
न्यायाधीश पराजुलीका अंगरक्षक एवं नेपाल प्रहरीका हवल्दार विन्दकुमार सिंहले पार्किङ गरेर राखेको कार चलाएर निकाल्न खोज्दा दुर्घटना भएको बताइएको छ। प्रहरी हवल्दारले कार चलाएर दुर्घटना गराएका बेला चालक श्रवण चौधरी पनि सँगै गाडीभित्र नै रहेको प्रहरीले बताएको छ।
अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले गाडी दुर्घटना भएका बेला न्यायाधीश पराजुली भने बाहिरै रहेको बताए। दुर्घटनापछि कार, हवल्दार सिंह र न्यायाधीशका स्थायी चालक चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।