काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणको अनुसन्धानका लागि घटनास्थल पुगेको छ। आइतबार राति एकै परिवारका ६ जनाको हत्या भएको घटनाबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी रुकमबहादुर कुँवरको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको संखुवासभा प्रहरीले जनाएको छ।
पहिलो चरणमा सबुत प्रमाण संकललनका लागि संघीय एकाइ प्रहरी कार्यालय धरानबाट दुई वटा कुकुर परिचालन गरी ‘डग स्निफिङ’ गरिएको थियो। तर राति पानी परेकाले घटनास्थलबाट सबुत प्रमाण नष्ट हुन सक्ने जोखिम देखिएको अनुसन्धानमा खटिएका सुरक्षाकर्मी बताउँछन्।
यद्यपि घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनास्थल सुरक्षित बनाएर राखेको छ। अब पहिला घटनामा प्रयोग भएको हतियार खोजिनेछ। त्यसका लागि धरानबाट फरेन्सिक टिम र जिल्ला प्रहरी कार्यालयको टिम संयुक्त रूपमा खटिएको छ।
अनुसन्धान टोलीले घटनास्थल र शवको जाँच प्रकृति मुचुल्का विवरण उठाई शव पोस्टमार्टमका लागि धरान पठाइएको छ। प्रहरी उपरीक्षक भीम दाहाल पोस्टमार्टम रिपोर्ट जति चाँडो आउन सक्यो त्यति नै अनुसन्धान फराकिलो हुने बताउँछन्। पोस्टमार्टम रिपोर्ट स्पष्ट नभएमा भिसेरा जाँचका लागि शवको केही नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाउनुपर्ने हुन्छ।
‘पाँच जनाको भाग्दाभाग्दै र एक जना वृद्धाको सुतेकै अवस्थामा हत्या गरेको अनुमान छ। विस्तृत विवरण त अनुसन्धानपछि मात्र थाहा हुन्छ।’
घटनास्थलमा भेटिएको शवको प्रकृति हेर्दा हत्याराले मृतकहरूलाई लखेटीलखेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। घरभित्र ८४ वर्षीय पार्वती कार्की मृत अवस्थामा भेटिएकी थिइन्। उनका छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की, नाति दिपेन र नातिनी गोमाको शव तीन बेग्लाबेग्लै ठाउँमा भेटिएको थियो। प्रहरीका अनुसार नातिनतिनाको शव घरदेखि माथिको खरबारीमा थियो भने तेजबहादुरको शव सडकमा थियो। रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो।
मृतकको चप्पल, चुरा लगायत यत्रतत्र छरिनु र तेजबहादुरले गमबुट लगाइरहेकाले लखेटेर हत्या भएको प्रहरीको अनुमान छ। दाहाल भन्छन्, ‘पाँच जनाको भाग्दाभाग्दै र एक जना वृद्धाको सुतेकै अवस्थामा हत्या गरेको अनुमान छ। विस्तृत विवरण त अनुसन्धानपछि मात्र थाहा हुन्छ।’
हत्यामा सबैजनामाथि धारिलो हतियार प्रहार भएको देखिन्छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटनामा एकजनाभन्दा बढीको संलग्नता र उनीहरूले खुकुरी, बन्चरोजस्ता घरेलु हतियार प्रयोग गरेको हुन सक्ने मृतकको शरीरको चोटबाट देखिएको छ।