काठमाडौं- सर्वोच अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता सम्बन्धी सबै कागजात पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले मंगलबार आयोगलाई यस्तो आदेश दिएको हो।
‘विपक्षी निर्वाचन आयोगबाट मिति २०७८ भदौ ९ मा नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) दल दर्तासँग सम्बन्धित रहेको सम्पूर्ण कागजात झिकाई विपक्षीबाट लिखित जवाफ प्राप्त भएको तीन दिनभित्र पेसीमा चढाई नियमानुसार पेस गर्नू’ आदेशमा छ।
एमाले अध्यक्ष केपी ओलीले भदौ १७ गते एमालेबाट विभाजित भई गठित नेकपा (एस) को दर्ता निर्वाचन आयोगले कानुनविपरीत गरेको भन्दै खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए। ओलीले मागेअनुसार सर्वोच्चले अन्तरिम आदेश भने जारी गरेन।