काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सैनिक सेवाबाट अवकाश हुनु केही दिनअघि उनले अद्यावधिक विवरण सार्वजनिक गरेका हुन्।
लमजुङको बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेका महारथी थापाको काठमाडौं महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ।
उनको लम्जुङ बेँसीसहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौं महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४.५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीसहर नपा–२ पैत्रिक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जग्गा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ।
महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र १४ लाखमा खरिद गरिएकोसमेत औठीसहित हीराको हार छ। उनीहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा रु. एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा रु. ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा रु. २० लाख २२ हजार ३८१ र अमेरिकी डलर छ हजार ७० रहेको छ।
प्रधानसेनापति थापा र दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब रु. ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ। उनीहरूले नेपाल बैंकबाट रु. एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन रु. ३० लाख ऋण लिएकामा रु. १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ । श्रीमती दीपाको रु. २० लाख र छोरा रौनकको रु. ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट रु. ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु. १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात रु. २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत रु. चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।
उनले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुन् । तीन वर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
–रासस