काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेश सभाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा तोकिएको छ।
एमालेले कारबाहीका लागि सिफारिस गरेका माधवकुमार नेपाललगायत १४ जना सांसदलाई सिफारिस बमोजिम कारबाही नगरेको भन्दै सभामुख सापकोटाविरुद्ध, एमाले विभाजनमा कानुनविपरीत गतिविधि गरेको भन्दै निर्वाचन आयोगविरुद्ध र प्रदेश सभाका २ जना सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकालाई कारबाही सिफारिस गर्दा पनि पदमुक्त नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
ओलीले भदौ १७ गते दायर गरेका रिटमाथिको पेसी मंगलबारका लागि प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको छ। मंगलबारको पेसीमा प्रधानन्यायाधीशको इजलासमा ओलीले दायर गरेका रिटको सुनुवाइ ८, ९ र १० नम्बरमा रहेको छ।