म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले खेलाडीलाई पहिलो प्राथमिकता दिइने बताएका छन्। उनले रहिम स्टार्लिङ स्पेनिस क्लब रियल मड्रिड जान सक्ने सम्भावनाबारे बताउँदै खेलाडी आफूले सोचेको कुरा गर्न स्वतन्त्र भएको पनि बताए ।
स्टार्लिङले केही दिनअघि आफू सिटीमा बस्दा खुसी रहे पनि जिनेदिन जिदानेको प्रशिक्षणमा सहभागी बन्न सक्ने बताएका थिए। यसबारे गार्डिओलाले भने, ‘खेलाडीले आफूले जे सोच्छन्, त्यो भन्न स्वतन्त्र छन्। स्टार्लिङ लिभरपुलबाट २०१६ मा सिटी आएदेखि क्लबको मुख्य खेलाडीका रुपमा खेलिरहेका छन्।’
केही स्टार्लिङले भविष्यबारे भन्न नसकिने बताएका थिए। उनले भनेका थिए, ‘यसको उत्तर म कसरी दिन सक्छु ? भविष्यमा के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। म क्लबप्रति उत्तरदायी छु। तर, रियल मड्रिड पनि राम्रो क्लब छ।’
आफ्ना खेलाडी रियल जानेबारे गार्डिओलाले भने, ‘मड्रिडका मिडियामा खेलाडी ट्रान्सफरबारे कुराहरु चल्नु सामान्य हो। मलाई मेरा खेलाडीको कमिटमेन्टको बारेमा राम्ररी थाहा छ। तर, यो सिजनको अन्त्यमा के हुन सक्छ भनेर भन्न सकिँदैन। हामी बैठक बसेर ठण्डा दिमागले के गर्दा उचित हुन्छ भन्ने कुराको निर्णय गर्ने छौं।’
सिटी च्याम्पियन्स लिग प्रतिबन्धमा परेपछि क्लबका खेलाडीलाई बार्सिलोना र रियल कुनै पनि क्लबले बोलाउन सक्ने गार्डिओलाले स्विकारेका छन्। प्रिमियर लिगको साविक विजेता म्यान्चेस्टर सिटी आर्थिक अपारदर्शिताका कारण च्याम्पियन्स लिगको दुई सिजनका लागि प्रतिबन्धमा परेको छ।