काठमाडौं- कोरोनाका कारण स्थगित १२ औं राष्ट्रिय जनगणना कार्यक्रम आगामी मंसिर ९ गतेसम्म सञ्चालन गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।
सरकारले कार्यतालिका स्वीकृत गरेसँगै जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभर एकसाथ हुने भएको छ। विभागले जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनबाट सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ।
यसअघि छनोट गरिएका ८ हजार सुपरिवेक्षकलाई पुन:नियुक्ति गर्ने र लगत्तै भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइने जनाइएको छ। तालिमपछि सुपरिवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचिकरणमा खटाइनेछ।
असोजभित्र ३९ हजार गणक छनोट गरि कात्तिक १३ गतेबाट चारदिने तालिम दिइनेछ। जनगणना कार्यको पहिलो चरणमा प्रत्येक घरमा एकजना सुपरिवेक्षक खटिने र घरमुलीलाई भेटेर उनीहरुले विवरण लिनेछन्। त्यसैगरी दोस्रो चरणमा गणकले घरमुलीलाई भेटेर विवरण भर्ने छन्।
यसअघि जेठ २५ गतेबाट असार ८ गतेभित्र मिति तोकिएको थियो तर वैशाख १६ गतेबाट लकडाउन भएपछि मन्त्रिपरिषद्ले स्थगित गर्ने निर्णय गरेको थियो। यो जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको पहिलो जनगणना भएकाले वडास्तरको तथ्यांक लिइने जनाइएको छ। यो पटक ‘मेरो जनगणना, मेरो सहभागी’ नारा रहेको छ।