काठमाडाैं- संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
‘हामी सदरमुकाम खादबारीबाट चैनपुर पुग्यौं। हामीलाई यहाँबाट घटनास्थल पुग्न कम्तीमा तीन घन्टा लाग्नेछ’, नेपाल समयसँग कुरा गर्दै सुवेदीले भने।
सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खबर प्राप्त भएको उनले बताए। उनका अनुसार परिवारका शव क्षतविक्षत अवस्था रहेको भन्ने जानकारी आएको छ।
छिमेकीले मंगलबार बिहान सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। घटनाको थप विवरण आइसकेको छैन।