बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • सुदुरपश्चिममा सबैभन्दा ठूलो दल बन्यो एकीकृत समाजवादी, सेयरबजारमा निरन्तर 'पहिरो' [२०७८-५-२०]

सुदुरपश्चिममा सबैभन्दा ठूलो दल बन्यो एकीकृत समाजवादी, सेयरबजारमा निरन्तर 'पहिरो' [२०७८-५-२०]

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) भन्दा ठूलो दल बनेको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

सुदूरपश्चिममा एमालेभन्दा ठूलो बन्यो एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) भन्दा ठूलो दल बनेको छ। नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीको पक्षमा सुदूरपश्चिम प्रदेश सभाका १३ सांसदले सनाखत गरेसँगै एमाले भन्दा समाजवादी ठूलो दल बनेको हो। ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए। १३ सांसद एकीकृत समाजवादीमा गएपछि एमालेसँग १२ सांसद् मात्रै छन्।

आज आइतबार सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १ जना मन्त्री सहित थप ३ जनाले सनाखत गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा आज सनाखत गरेका हुन्। 

यसअघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। यसअघि प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी,  सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए।  

एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी

नेकपा एमालेबाट विभाजित भएर बनेको नवगठित नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी गठन भएको छ। पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल सदस्य रहने गरी ५ सदस्यीय स्थायी कमिटी गठन भएको हो। यस्तै नेकपा एकिकृत समाजवादीले सातै प्रदेशका इन्चार्ज समेत तोकेको छ। प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्जमा धर्मनाथ शाह, वागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने र गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ तोकिएका छन्।

लुम्बिनी प्रदेशको इन्चार्जमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला, उपत्यकामा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद शाहले पाएका छन्। त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडालाई दिइएको छ भने मोर्चा इन्चार्जको जिम्मा विजय पौडेललाई दिइएको छ। 

एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशनअनुसार पार्टीको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने वेदुराम भुसालले पाएका छन्। पद नखुलाइएको भए पनि भुसाल कार्यका हिसावले महासचिवको भूमिकामा देखिएका छन्। 

छात्रवृत्ति दुरुपयोग हुन नदिन आग्रह

प्रतिनिधिसभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरुका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन। 

आईतबार प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरु मानबहादुर विश्वकर्मा, अञ्जना विशंखे, विद्या भट्टराईलगायतका सांसदहरुले चिकित्सा शिक्षा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरुका लागि व्यवस्था गरिएको छात्रवृत्तिमा दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेत समेत गराए। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पु¥याउने गरी आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। उनले चिकित्सा क्षेत्रको परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग आग्रह गरिन्।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले गरिव र जेहेन्दार वर्गका लागि छुट्टयाइएको छात्रवृत्तिमा चलखेल गर्ने काम हुन नदिन सरकारलाई सचेत गराए। उनले सबै समुदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानुनी व्यवस्थालाई समेत बेवास्ता हुने गरी चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न पनि सरकारसँग आग्रह गरे। 

बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समूदायका लागि छुट्टयाइएको छात्रवृत्ति दूरुपयोग हुन नदिन आफूहरु सचेत रहेको बताए। उनले मेडिकल शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि आयोगको तर्फबाट सक्दो पहल भईरहेको पनि समितिलाई जानकारी गराए। 

उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तरगतका परीक्षाहरु संचालनमा ढिलाई नहुने गरी अघि बढने प्रतिवद्धता व्यक्त गरे। मंसीर, पुसभित्र सो संस्थान अन्तरगतका सबै परीक्षाहरु लिने गरी सरोकारवाला पक्षहरुसँग छलफल गर्ने कामलाई अघि बढाइएको पनि उनले जानकारी दिए। 

शिक्षक बढुवा रोकियो

शिक्षक सेवा आयोग नियमावली संशोधन नहुँदा सामुदायिक विद्यालयका शिक्षकको बढुवा प्रक्रिया अवरुद्ध भएको छ। सरकारले आयोगमा पदाधिकारी नियुक्त गरे पनि नियमावली संशोधन नभएपछि शिक्षकको आन्तरिक प्रतिस्पर्धा र बढुवा अघि बढाउन नसकिएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पालामा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाए पनि नियमावली संशोधन हुन सकेको थिएन। 

प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएपछि प्रधानमन्त्री कार्यालयबाट नियमावली शिक्षा मन्त्रालयमा फिर्ता आएको छ। देउवा प्रधानमन्त्री भएको दुई महिना हुन लाग्दा पनि शिक्षामन्त्री नियुक्त हुन सकेको छैन। मन्त्रालयले नियमावली संशोधन नभएसम्म विषयगत शिक्षकको आन्तरिक प्रतिस्पर्धा अघि बढाउन नमिल्ने आयोगका पदाधिकारी बताउँछन्। 

नेप्सेमा पहिरो 

साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ। 

नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ। ११ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

सबै समूहहरु घटेका छन्। बैंकिङ ४४, विकास बैंक ३९४, फाइनान्स २३९, होटल तथा पर्यटन १६१, जलविद्युत २१६, लगानी समूह ४, जीवन बीमा ५११, उत्पादन १७५, माइक्रोफाइनान्स १६२, निर्जीवन बीमा ५१९, अन्य ८३ र ब्यापार समूह २१६ अंकले घटेका छन्।

कोभिड खोप लगाउनेको संख्या १ करोडभन्दा बढी

नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १ करोड ४ लाख २८ हजार ९४६ जनाले कोभिड खोप लगाएका छन्। 

मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। यस्तै, ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठकसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य लिएको जानकारी दिए। 

कोरोनाकै अर्को प्रसंगमा नेपालमा थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन कुल ७ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ।

यी सहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन्।

कीर्तिपुरमा मास्कबिना प्रवेश निषेध!

कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ।

कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो। आईतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि यस्तो अभियान संचालनमा ल्याइएको स्पष्ट पारे। त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ।  सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए। 

कार्यक्रममा बोल्दै उपमेयर सरस्वती खड्काले यो अभियानलाई साथ दिएर कोरोना संकटबाट बच्न सबै नागरिकहरुलाई अपिल गरिन्। कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौं कीपूलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए। 

अब अन्तर्राष्ट्रिय समाचार

तालिबानले अहिलेसम्म कब्जामा लिन नसकेको अफगानिस्तानको पाञ्जशिर उपत्यकामा दुई पक्षबीच भीषणा युद्ध भइरहेको छ। तीन दिनदेखि जारी युद्धमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ।

त्यस्तै एक हजार भन्दा बढी लडाकूले आत्मसमर्पण गरेको दाबी गरिएको छ। तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ति गर्न कठिनाइ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

तालिबान स्रोतले उपत्यका घेराउ गरेको बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। तर तालिबानलाई उपत्यकामा प्रवेश गर्न नदिनका लागि युद्ध गरिरहेको समूहले भने सो कुरा अस्वीकार गरेको छ।राजधानी काबुलको उत्तर तर्फ रहेको पहाडी उपत्यका पानशिर अफगानिस्तानको सानो प्रान्त हो।

भिडियो

प्रकाशित: Sep 05, 2021| 19:46 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।