काठमाडौं– कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु भएको छ। कीर्तिपुर नगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो।
आइतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान सञ्चालनमा ल्याइएको स्पष्ट पारे।
कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान सञ्चालनमा ल्याउनु परेको पनि स्पष्ट पारेको छ। त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ। सक्नेले दिने र नसक्नेलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए।
कार्यक्रममा उपमेयर सरस्वती खड्काले सो अभियानलाई साथ दिएर कोरोना संकटबाट बच्न सबै नागरिकहरुलाई अपिल गरिन्। कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौं कीपूलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए। सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ।