काठमाडौं– केही सातोदेखि अफगानिस्तान तालिबानको नियन्त्रणमा आएको छ। विद्रोही समूहले सत्ता कब्जा गरेपछि पनि देशका विभिन्न ठाउँमा हिंसाका घटना बाहिर आउन थालेका छन्। तालिबानले नियन्त्रण लिएको खुसीयाली मनाउने क्रममा पड्काइएको बन्दुकको गोली लागेर शुक्रबार मात्र पन्जशिरमा कम्तीमा पनि १७ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। यद्यपि अमेरिकालगायतका पश्चिमा मुलुकले सेना फिर्ता गरेपछि अहिले देशका अधिकांश भागको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ। तस्बिरमा हेरौं तालिबान शासनको अफगानिस्तान :

हरेक क्षेत्रमा तालिबान– हतियारधारी तालिबान लडाकु सडकमा गस्ती गरिरहेका देखिन्छन्। बजार, चोक र भित्री गल्लीमा पनि उनीहरू घुमिरहेका छन्।

आधुनिक हतियार– सडकमा खटिएका युवाले हातमा आधुनिक हतियार बोकेको देखिन्छ।

जनजीवन सामान्यतर्फ उन्मुख– नागरिकहरु आफ्नौ दैनिकीतर्फ फर्किएका छन्।

तरकारी खरिद गर्नु त सामान्य जनजीवनको एक हिस्सा नै हो, तर तरकारी व्यापारीले भने तालिबानको समर्थनमा नारा लगाउनुपर्ने भएको छ।

विरोधको नयाँ शैली– अघिल्लो साता खोस्त सहरमा निकालिएको जुलुसमा नाटो, अमेरिका, बेलायत र फ्रान्सको झन्डाले ढाकेका कफिन बोकेर प्रदर्शन गरिएको थियो।

बैंकमा लामो लाइन लागेको छ। मुद्रास्फिति बढेकाले एक व्यक्तिले २० हजार अफगानी मात्र निकाल्न पाउँछन्।

सहरमा मानिसको मानिसको आवतजावत बढेको छ। सडकछेउमा नमाज पढ्नेहरु पनि देखिन थालेका छन्।