काठमाडौं– शनिबार कोरोना संक्रमणदर र मृत्यु पछिल्लो एक महिनायताकै कम भएको छ। अघिल्लो महिना साउमा २५ प्रतिशतभन्दा बढी पुगेको संक्रमणदर १२ प्रतिशतमा झरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्युदर पनि घटेको छ। पछिल्ला दुई महिनायता सबैभन्दा कम १२ जनाको मृत्यु भएको छ शनिबार। यसैगरी संक्रमणका कारण आईसियु र भेन्टिलेटरमा रहेर उपचार गराउने संक्रमितको संख्या पनि घटेको छ। शनिबार देशभरमा अस्पतालमा रहेका आईसियूमा ५५४ जना छन्। कुनै बेला यो संख्या ८०२ सम्म पुगेको थियो। यसैगरी शनिबार भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितको संख्या १७२ छ।
पछिल्लो २४ घन्टामा ९ हजार ८७५ जनाको पिसिआर तथा एन्टीजेन परीक्षण गरिएकोमा १२.८४ प्रतिशत अर्थात् १ हजार २६८ संक्रमित भएका छन्। अघिल्लो साता यो प्रतिशत १३ थियो।
अहिलेसम्म १ करोड ३ लाख ७५ हजार ७६४ जनाले कोभिडविरुद्ध दुवै मात्राको खोप लगाइसकेका छन्। सरकारले कुल जनसंख्याको ७१.०६ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजारले खोप लगाउने लक्ष्य राखेको छ।
यसमध्ये पहिलो मात्राको खोप लगाउनेको संख्या १७ प्रतिशत अर्थात् ५५ लाख ११ हजारभन्दा बढी छ भने पूर्ण मात्रा लगाउनेको संख्या १५ प्रतिशत अर्थात् ४८ लाख ६३ हजार छ।