मंगलबार, असोज २०, २०८३

'म आफैंमा नृत्य हुँ'

जीवनमा मृत्यु सत्य छ। आफ्नो मृत्यु पनि मञ्चमा नाच्दानाच्दै आइदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई, 'नाच्दानाच्दै मेरो सास जाओस् तर नाच्न नछुटोस्।'
 |  शनिबार, भदौ १९, २०७८

राज सरगम/रोविन श्रेष्ठ

राज सरगम/रोविन श्रेष्ठ

शनिबार, भदौ १९, २०७८

[ यसपटक 'समय-कथा'मा यस्तो डान्सरको कथा छ जसले भरतनाट्यम्, चरिया नाच र लोक नृत्य प्रस्तुत मात्र गर्दैनन्, पढाउँछन् पनि। सिकाउँछन् पनि। स्वजन रघुवंशीको नृत्य यात्राबारे शब्दसहित श्रव्य-दृश्य सामग्रीः ]


टिनटिन… 

धिन धिन तत्ता धिन…

घण्टीको स्वर बज्दै थियो। घण्टीकै लयमा मुखकार स्वर पनि आइरहेको थियो। स–साना बालिकाहरू हातको पार लगाउँदै भावभंगी बदल्दै थिए। र, गोडामा बाँधेको घुँगुँरुको स्वर खापिन्थ्यो – धिन् धिन् तत्ता धिन्…। यो दृष्य क्लासिकल डान्स सेन्टरको हो। 

डान्स सेन्टरमा नृत्यकार स्वजन रघुवंशी बालिकालाई भरतनाट्यम् सिकाउँदै आएका छन्। १ वर्ष अगाडि मात्रै बनारस हिन्दू विश्वविद्यालयबाट 'भरतनाट्यम्'मा स्नातकोत्तर गरेका रघुवंशी 'सृजना फाइनआर्ट कलेज'मा कक्षा ११/१२ र स्नातक तहमा नृत्य पढाउँछन्।


स्वजन नृत्यलाई सबथोक मान्छन्। उनको नृत्यसंघर्ष करिब दुई दशकअघि सुरु भएको हो पाटनको देगु तलेजु मन्दिरबाट। 

०००

पाटन सुन्धारा स्थायी घर भएका रघवंशीका बुबा 'देगु तलेजु मन्दिर'का पुजारी थिए। बुबा नै पुजारी भएकाले उनलाई मन्दिर जानआउन कुनै विशेष परिस्थिति जुर्नुपर्दैनथ्यो। हिँडडुल गर्न सक्ने भएदेखि नै पुजारी बुबाको हात समाएर मन्दिर जान्थे स्वजन। मन्दिर नजिकैको चोकमा 'कार्तिक नाच' सिकाइन्थ्यो। पाटनको परम्परागत नाच भएकोले सबैले सिक्न अवसर थियो। 

पाटनको संस्कृति झल्किने यो नाच कति पुरानो हो भन्ने यकिन छैन। यो नाच ३ सय ८० वर्षभन्दा पनि पुरानो भनेर मान्ने गरिएको छ। मन्दिरको वातावरणसँगै हुर्केका स्वजनलाई कार्तिक नाच सक्ने अवसर मिल्यो, 'बाल्यकालमा देखेको कार्तिक नाचले नै मलाई नाच्न हौस्यायो।'


हातमा तरबार लिएको, मुख रातो पारेको, शिरमा रातो कपडा बाँधेको, पहेंला वस्त्र लगाएको नर्तकहरु २७ दिन लगातर नाच्ने गर्छन्। बाल्यकालमा देखेको कार्तिक नाचले उनले नृत्य रोजे। कात्तिक नाच सिक्दै गएपछि उनले भरतनाट्यम्का विषयमा थोरबहुत जान्नेसुन्ने मौका पाए। यसैका विषयमा उनको रुची बढ्दै गयो। 

८ वर्षको उमेरमा डबलीमा प्रह्लादको भूमिकामा नृत्य गरेर उनले नृत्यको क्षेत्रमा पाइला राखिसकेका थिए। आफ्नो शोख नृत्य नै भएको विषयमा परिवारलाई विश्वास दिलाए। तर उनले पढाइलाई पूरै बेवास्ता पनि गरेनन्। सँगै पढाइ सँगै नृत्य। दुवै एकसाथ अघि बढे। नाचमै भविष्य देखेका उनले राष्ट्रिय नाचघरमा तीन महिनाको तालिम लिए। 

परिवारजत्तिकै प्यारो लाग्छ उनलाई नृत्य। सपनामा पनि नृत्य देख्छन्। 'श्रीमती ७ महिनाको गर्भवती हुँदा भरतनाट्यम् पढ्न बनारस पुगेको थिएँ,' उनले नृत्यलाई परिवारभन्दा बढी समय दिएको बाउँदै भने, 'भरतनाट्यम् सिक्नु भनेको भागवत, रामायण, महाभारत, नाट्यशास्त्र, अभिनय दर्पण, संगीत रत्नाकार जस्ता विषयहरु पढ्नु पनि हो।'


भरतनाट्यम् मुख्य रुपमा दक्षिण भारतको शास्त्रीय नृत्यशैली हो। यस नृत्यकलामा भाव, राग र ताल गरी तीन कला समावेश गरिएको हुन्छ। भरतमुनिको नाट्यशास्त्र ईशापूर्व ४ सय तिरको हो। स्वजन भन्छन्, 'भाव अथवा मनस्थिति, राग अर्थात् संगीत र स्वरमार्धुय ताल हो। हात खुट्टा र शरीरको संयुक्त सञ्चालन समन्वय राख्दछ।'

भरतनाट्यम् जीवनको तीन मुल तत्व दर्शन शास्त्र, धर्म र विज्ञान पनि हो। 

०००

'कुनै पनि क्षेत्रमा सफल हुन संघर्ष गर्नैपर्छ। भरतनाट्यम् सिक्दा पनि उनले धेरै दुःख पाएँ। खुट्टामा घुँघुरु बाँधेर नाच्नु पर्दा गोडा सुनिने गर्दथ्यो। औला दुख्थें। तर उनले निराश भएनन्। तर शरीरले भने साथ दिएन। समस्यामा परेँ,' स्वगन सम्झन्छन्, 'दायाँ गोडाको हड्डीमा समस्या भएपछि उनी नाच्न सकिनँ। पुरै शरीर दुख्न थाल्यो। डाक्टरले नृत्य नगर्न सल्ला दिए। डाक्टरले नृत्य गर्नहुँदैन भनेपछि साह्रै पिर पर्‍यो। के अब नाच्न पाउँदिनँ मैले भनेर खुब चिन्ता लाग्यो।' 

तर खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ स्वजनले नृत्यको करिअरलाई त्याग्न सकेनन्। ९ महिना जस्तो नृत्य गरेनन्। तर नृत्यबाट टाढा भएनन्। जब दुखाई कम हुँदै गयो। उनले नाच्न सुरु गरे। 

शारीरिक सस्याले परलो पारेपनि आर्थिक समस्यासँग उनले खासै संघर्ष गर्नुपरेन। 'मैले नाच्न पाउँदिनँ कि भनेर गुरुहरु समेत चिन्तित हुनुहुन्थ्यो,' भन्छन्, 'परिवारको सहयोग र साथले मैले फेरि नाच्न पाएँ।' 

नाच्नकै लागि उनले आफूसँग संघर्ष गरे। गोडाहरुलाई एकछिन रोकेनन्। उनी नृत्यका लागि अनेक पोशाक पहिरन्छन्। अनेक शृंगार गर्छन्। अनेक हाउभाउमा आफ्नो प्रस्तुति दिन्छन्। भन्छन्, 'केवल नाच्न पाए पुग्छ।' बाटोमा हिडिरहँदा उनी कहिल्यै एक्लो भएनन्। उनीसँग नृत्य हुन्थ्यो। उनलाई लाग्छ, 'म हिडिरहँदा पनि मेरो आत्मा नाचिरहेको हुन्छ।'

जीवनभर नाच्ने सपना बोकेका स्वजन नृत्य क्षेत्रमा लागेर पनि जीविकोपार्जन गर्न सकिने हिम्मत सुनाउँछन्। नृत्यबाट करिअर बन्दैन भन्नेका लागि उनी उदाहारण हुन्, 'सकारात्मक र इमान्दर भएर नाच्ने संघर्ष जारी राख्न सकियो भने यसैमा स्थापित हुन सकिन्छ।' 

हाल उनी भरतनाट्यम्'सँगै चरियानाच र लोकनाचमा सक्रिय छन्। चरिया र लोकनाचले नेपाली मौलिका झल्काउने हुँदा उनी यसमा आकर्षित भएका हुन्। यो नाचबाट विश्वको ध्यान खिच्न सक्ने उनको विश्वास छ, 'नेपाली मौलिक नाचलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ।'

स्वजनले जीवनमा नाचेरै सबैथोक जितेका छन्। अहिले पनि उनका घरका भित्तामा नाचेर जितेका प्रमाणपत्रका फ्रेम र पुरस्कारले दराज भरिएको छ।


गलत डान्सको बाटो नलागेकोमा उनी ढुक्क छन्। डाक्टर र शिक्षक हुन सक्ने सम्भावना देखेका थिए उनका अभिभावकले। तर उनी नृत्यकार भए। र डान्सका गुरु पनि भए। नृत्यकारलाई पनि परिवारले स्वीकार्न सक्ने माहोल बनाएकोमा गर्व गर्छन् उनी। त्यसैले उनी आफूलाई नृत्य नै हुँ जस्तो लाग्छ। जीवन नै नाच्नका लागि पाएको बताउछन् स्वजन, 'मेरो लागि सबथोक नृत्य हो।  

०००

विश्व यतिखेर 'धेरै नाचौँ धेरै बाँचौं' भनिरहेको छ। तर उनी बाच्नका लागि मात्रै नाचेका छैनन्। नाचेर केही योगदान दिन उनी कस्सिएका छन्। आउने पुस्तालाई भरतनाट्यम्'द्वारा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन चाहन्छन्। 

जीवनमा मृत्यु सत्य छ। आफ्नो मृत्यु पनि मञ्चमा नाच्दानाच्दै आइदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई, 'नाच्दानाच्दै मेरो सास जाओस् तर नाच्न नछुटोस्।'

नृत्य परापूर्वकालदेखि शुद्ध छ। शिवको ॐबाट सुरु भएको भरतनाट्यम्'लाई महिलाले मात्रै होइन, पुरुषले पनि नाच्नसकिन्छ भन्न चाहिरहेका छन्। तर नाचमा आएको विकृतिबाट भने चिन्तित छन् उनी। बढ्दो विकृतिबाट सचेत हुनपर्ने बताउँछन्, 'नाच्नु नकारात्मक होइन तर कस्तो नाच्ने भन्नेमा विचार पुर्‍याउनुपर्छ।'

उनी चरिया नाच र लोकनाचलाई जतिसक्दो धेरै मानिसहरूसँग परिचित गराउन चाहन्छन्। आधुनिक समयमा अन्तर्राष्ट्रिय नृत्यलाई पनि पछ्याउदै नेपाली नाचलाई प्रवर्द्धन गर्नुपर्ने बताउँछन स्वजन, 'मेरो लक्ष्य नै लोकनाच, चरियानाच र शास्त्रीय नाचबाट देशलाई चिनाउने छ।'

नृत्य-यात्री राजवंशीबारे हेर्नुहोस् भिडियो सामग्रीः



प्रकाशित: Sep 04, 2021| 17:30 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।